कपिलवस्तुबाट पशुलाई निर्दयी तरिकाले ओसारपसार गर्ने दुई ट्रकसहित ४ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमी नगरपालिका- २ स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डबाट पशुलाई निर्दयी व्यवहार गर्ने चार जना पक्राउ परेका छन । उनीहरुलाई गोरुसिङ्गेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका हुन।
पश्चिमबाट पुर्व तर्फ लैजादै गरेको बा.प्र.०३-००१ ख १९९२ नं. को ट्रकमा शंका लागी रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडी २४ गोरुलाई यातना हुने गरी पुच्छर बाँधी झुण्डीएको, नाक डोरीले छेडीएको, जसमध्ये २ वटा गोरुको सिङबाट रगत आईरहेको तथा ट्रकको पुरै छत त्रिपालले छोपी उक्त गोरुहरुको श्वासप्रश्वासमासमेत अवरोध पुगेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
गोरुहरुलाई सुरक्षित स्थलमा छाडिएको तथा उक्त ट्रक चालक मोरङ बिराटनगर उपमहानगरपालिका- ३ मानगण चोक बस्ने वर्ष ३८ को हेमु श्रेष्ठ सोही स्थान बस्ने वर्ष २७ को रमेश श्रेष्ठ, सुनसरी कुसाहा नगरपालिका- १३ नहरचोक बस्ने वर्ष ५५ को ईर्साद आलम र सोही स्थान बस्ने वर्ष २७ को समिम आलमलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुलाई तत्काल जरुरी पक्राउ पुर्जी दिई बा.प्र.०३-००१ ख १९९२ नं. को ट्रकसमेत आवश्यक अनुसन्धानको लागी नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट दिन ७ म्याद लिई थप अनुसन्धान गरिरहेको छ ।






















