अपराध

रविलाई बयानका लागि सरकारी वकिल कार्यलयमा उपस्थित गरायो

नवलपुर टुडे
२०८१ कार्तिक २७ | मध्यान्ह ०२:०७ बजे

भैरहवा । भैरहवा विमानस्थल हुँदै आज रुपन्देही पर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यलयमा उपस्थित गराएको छ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा पक्राउ पूर्जी जारी भएका रविको बयान लिनका लागि रुपन्देहीस्थित जिल्ला सरकारी वकिल कार्यलयमा उपस्थित गराइएको हो।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज बुद्ध एयरको जहाजमार्फत् भैरहवा ल्याइएको हो। त्यसपछि बाक्लो संख्यामा प्रहरी तैनाथ गरी उनलाई बुटवल ल्याएर सरकारी वकिल कार्यलयमा उपस्थित गराइएको हो। प्रहरी स्रोतका अनुसार रविको रुपन्देहीकाे बसाइँ तीन दिन हुन सक्नेछ।

सहकारी ठगी प्रकरणमा यही कार्तिक २ गते पक्राउ परेका रवि कास्की प्रहरीको हिरासतमा थिए। उनलाई कास्की जिल्ला अदालतले आइतबार १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न समय दिएको छ। यता, उनको पक्राउको विरोधमा रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । रास्वपाले आज पनि भैरहवा विमानस्थलमा प्रदर्शन गरेको थियो।

बिरोध प्रदर्शन:

कमेन्टहरु