अपराध

रवि लामिछानेलाई आज नभए मंगलबार बिहानसम्म जहाजबाट रूपन्देही ल्याउने तयारी

नवलपुर टुडे
२०८१ कार्तिक २६ | बिहान ०८:०७ बजे

बुटवल, कात्तिक २६ । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही ल्याइने भएको छ। सहकारीको रकम हिनामिना गरेको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन्।

पछिल्लो पटक आइतबार मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि प्रहरीले उनलाई रुपन्देही ल्याउने तयारी गरेको हो। पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथी बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ। सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ।

लामिछानेलाई रुपन्देही पठाउन रुपन्देही प्रहरीले यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ। रुपन्देही प्रहरी स्रोतका अनुसार कास्की प्रहरीसँगको समन्वयमा सोमबार साँझको जहाजबाट भैरहवा ल्याइने गरी प्रक्रिया अगाडि बढेको छ। ‘मिलेसम्म सोमबार साँझ, प्रक्रिया ढिला भयो भने मंगलबार बिहानको उडानबाट भैरहवा ल्याउँछौं,’ जिल्ला प्रहरी कार्यालय रुपन्देही स्रोतले भन्यो।

रुपन्देही प्रहरी प्रमुख रन्जित सिंह राठौरले लामिछानेलाई रुपन्देही ल्याउन लागेको पुष्टि गरे। ‘हामीले उहाँलाई रुपन्देही ल्याउन पत्राचार गरिसकेका छौ, मिलेसम्म आज नभए मंगलबार बिहानसम्म ल्याएर बयान सुरू गर्छौं,’ राठौरले भने।

 
 

कमेन्टहरु