नेकपा एमालेका कोशी प्रदेश सांसद तथा निवर्तमान मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सांसद तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । विराटनगरस्थित सांसद अधिकारीको घरबाट प्रहरीले पक्राउ गरी आइतबार काठमाडौं ल्याइएको हो। उनलाई परिसरको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन पुगेको थियो ।
अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्याउन खोजेको आरोप छ । एमाले कोशीले उनलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरिसकेको छ भने शनिबारको सचिवालय बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो । जापान भ्रमणमा जाँदा असम्बन्धित व्यक्तिलाई पनि सँगै लिएर गएपछि उनीमाथि मानव तस्करीको आरोप लागेको थियो । भ्रमण विवादमा परेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए । अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्री र आफ्नो पार्टी नेकपा एमालेलाई समेत कुनै जानकारी नदिई फर्जी कागजात बनाइएका तीन जना व्यक्तिसहित जापान गएका थिए । जापानबाट उनीसहित चारै जनालाई विमानस्थलबाटै नेपाल फर्काइएको थियो ।
नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन विमानस्थलमा अघिल्लो शनिबार आइपुगेका चारै जनालाई अध्यागमन कार्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाउने तयारी गरेको थियो ।
अधिकारीले आफू मन्त्री भएको भन्दै परिचयपत्र देखाएपछि प्रहरीले छाडेको थियो । अधिकारीको साथमा रहेका रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राई तत्कालै समातिएका थिए । अध्यागमनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो । ती तीन जनाको बयानका आधारमा प्रहरीले नुवाकोट विदुरका जुगल रिजाल, दोलखा जिरीका वीरबहादुर सुनुवार र धादिङ त्रिपुरासुन्दरीका महेश पाण्डेलाई पनि पक्राउ गरेको थियो । जापानबाट फिर्ता गरिएका युवाले पाण्डेलाई प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको बयान दिएका छन् ।
उनीहरूमाथि पछिल्लो समय जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । जिल्ला अदातल काठमाडौंले अनुसन्धानका लागि थप ४ दिन हिरासतमा राख्न गत शुक्रबार प्रहरीलाई अनुमति दिएको छ । पक्राउ परेका अधिकारीले नै ‘आफू गिरोहको चंगुलमा परेर’ जापान गएको भन्दै गल्ती स्वीकार गरिसक्नु भएको छ ।
गिरोहको चलखेलका विषयमा आफू हङकङ पुगेपछि मात्र थाहा पाएको र जापान पुगेपछि नेपाल प्रहरीलाई खबर गरेको उहाँको जिकिर छ । तर जापानको अध्यागमनले प्रवेश नदिएपछि मात्रै नेपाल प्रहरीलाई यसबारे अधिकारीले जानकारी गराएको आशंका छ । आफूलाई प्रयोग गरेर मानव तस्करी भएको थाहा पाएपछि जापानबाटै फर्किएको उनको दाबी छ ।
जापानबाट फर्काइएका तीन जनामध्ये शेर्पासँग खोटाङको ऐंसेलुखर्क–२ को वडा सदस्यको नक्कली परिचयपत्र थियो भने देवकोटा र राईले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको परिचयपत्र बोकेका थिए । कर्मचारीको परिचयपत्रमा ‘निमित्त कार्यालय प्रमुख’ का रूपमा अधिकारीकै हस्ताक्षर छ । नक्कली परिचयपत्र प्रहरीले बरामद गरिसकेको छ ।























