अपराध

भारतमा २४ करोड नेपाली रुपैयाँ बराबरको नगद र गहना लुटेर नेपाली जोडी फरार

एजेन्सी
२०८१ कार्तिक २५ | मध्यान्ह ०२:०७ बजे

नयाँ दिल्ली । भारतको बैंगलुरुमा एक नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ (२४ करोड नेपाली रुपैयाँ) बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप लागेको छ ।

बैंगलुरुको विजयनगरका सुरेन्द्र कुमार जैनले नोभेम्बर ७ मा आफ्नो घरबाट सो मूल्य बराबरको गर–गहना र नगद चोरी भएको आरोप लगाएका छन् । आरोपीहरू यतिबेला फरार छन् । 

यो चोरी आफ्नो नेपाली कामदार नमराज र उनको श्रीमती (आरोपीको पूरा विवरण खुलाइएको छैन)ले गरेको भन्दै जैनले प्रहरीमा ऊजुरी गरेका छन् । जैनका अनुसार उनले आफ्नी श्रीमती, आमा र दिदीको सबै गहना घरको लकरमा राखेका थिए । अहिले बैंगलुरुको प्रहरीले नमराज र उनको श्रीमतीको खोजी गरिरहेको छ । 

जैनले अरिहान्त ज्वेलर्स चलाउँदै आएका थिए । जैनले ६ महिनाअघि मात्रै नमराजलाई स्टोरमा सहयोगीका रूपमा राखेका थिए । नमराजसँग बस्ने ठाउँ नभएकोले उनले आफ्नै घरको बेसमेन्टस्थित सुरक्षा गार्डको कोठामा बस्न दिएका थिए । 

नमराजकी श्रीमती जैनको घरमा घरायसी काममा पनि सहयोग गर्ने गरेको बताइएको छ । जैन र उनको परिवार धार्मिक कार्यका लागि गुजरात गएको बेलामा नवराजले श्रीमती र थप दुई जना अज्ञात व्यक्तिको सहयोगमा घरमा चोरी गरेको आरोप जैनको छ ।

 

 

कमेन्टहरु