कारागारबाट सुरुङ खनी फरार भएका यादव पक्राउ

नवलपुर टुडे
२०८१ कार्तिक २४ | बिहान ०८:०७ बजे

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनेर फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि सुनसरी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरर शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा इनरुवा–५ बलहाका विनायककुमार यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
कर्तव्यज्यान र हातहतियार खरखजना मुद्दामा कैदा भुक्तान गरिरहेका यादवसहित १२ जना २०६९ कात्तिक २३ गते फरार भएका थिए । विसं २०६५ वैशाख १६ गते विनायककुमार र श्यामकुमार यादवले प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीलाई गोली प्रहार गरी घाइते बनाएका थिए । उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
विनायकलाई कर्तव्यज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीले २०६५ जेठ ८ गते २० वर्ष ८ महिना १४ दिन कैद फैसला गरेको थियो ।























