रविलाई अब एकै पटक कात्तिक २० गते अदालतमा उपस्थित गराइनेछ । तिहार बिदा सकिएपछि कार्यालय खुल्ने पहिलो दिन कात्तिक २० गते मङ्गलवार अदालतमा उपस्थित गराइने प्रहरी श्रोतले जनाएको छ । सो दिन अदालतमा उनको म्याद थप सम्बन्धी बहस हुनेछ । म्याद थप भएको खण्डमा उनलाई कात्तिक १५ गतेदेखि नै लागु हुने गरी म्याद थपिनेछ ।
रविले चाहेमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गर्न सक्छन् । बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दा चाडपर्व विदामा समेत हेरिने अदालतले जनाएको छ । तर रविकैजस्तो मुद्दामा पूर्व डिआइजी छविलाल जोशीले हालेको बन्दी प्रत्यक्षीकरणको मुद्दा अदालतले खारेज गरिदिएको थियो ।
यसैबिच, रविको बयान भने सकिएको छ । उनको बयान बुधवार राती अबेर सकेर सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता कमला शर्मा र अनुसन्धान अधिकृत डिएसपी वसन्तकुमार शर्माले प्रमाणित गरिसकेका छन् । वयानमा रविले आफूले सूर्य दर्शन बचत तथा ऋण सहकारी लिमिटेडबाट ऋण नलिएको जिकिर गरेका छन् ।
साथै उनले सो सहकारीको आफू कहिल्यै सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पदमा नरहेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।

























