पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा


काठमाडौँ । बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसहित ५१ जना रिहा भएका छन् । पक्राउ पर्नेमा ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको उनले बताए ।
बालुवाटार घेराउ गर्न पुगेका उनीहरूलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्तामा एसपी नवराज अधिकारीले जानकारी दिए ।पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले मंगलबार गरेको प्रदर्शनका क्रममा पक्राउ परेका सांसद अशोक चौधरीसहितका ५१ जना रिहा भएका हुन् । रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो ।
प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको थियो । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।























