अपराध

रूपन्देहीमा सकियो छविलालको बयान

नवलपुर टुडे
२०८१ कार्तिक ७ | बिहान ०७:०७ बजे

बुटवल । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ गरी रुपन्देही ल्याइएका गोर्खा मिडिया नेटर्वकका तत्कालीन सञ्चालक छविलाल जोशीको मंगलबार बयान लिइएको छ ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम दुरूपयोगको आरोपमा अनुसन्धानको लागि बुटवल ल्याएका जोशीको झण्डै साढे ७ घण्टा लगाएर विभिन्न ५७ सवालका प्रश्न सोधेर बयान लिइएको हो ।

भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीहरूले बयान लिएका थिए ।

बिहान ११ बजेदेखि बेलुका पौने सात बजेसम्म बयान चलेको थियो । जोशीले अनुसन्धानका क्रममा सोधिएका प्रश्नको सहज जवाफ दिएका थिए । जिल्ला न्याधिवक्ता प्रेमराज पौडेलले छविलाल जोशीको बयान सकिएको जानकारी दिए । पौडेलका अनुसार जोशीसँग सहकारीका विषयमा लिनुपर्ने बयान लिइसकिएको थियो ।

बयानमा छविलालले पूर्वगृहमन्त्री रवि लामिछानेका बारेमा समेत केही विषयहरू बोलेको बताइएको छ । ‘हाम्रो अनुसन्धानका लागि आवश्यक बयान सकिएको छ, अब प्रहरीले अनुसन्धान गर्नेछ’ उनले भने । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता लक्ष्मी खनालले जोशीको बयान सकिएकोले बुधबार पोखरा नै पठाइने बताइन् ।

जोशीको बयान लिइरहेको बेला जिल्ला अदालत नजिकै सहकारी पीडितहरुले योजनाबद्ध तरिकाले सहकारीमा ठगी गर्नेलाई कारवाहीको माग गर्दै प्रदर्शन समेत गरेका थिए ।

सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले नागरिको निक्षेप फिर्ता र दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन बताए । सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रतिनिधि सभा सदस्य सूर्य थापा नेतृत्वको गठित संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौंबाट पक्राउ परेका थिए । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएको आरोप छ ।

संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेको आरोप उनीमाथि छ । सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि अहिले पोखरा प्रहरीको हिरासतमा छन् ।

कमेन्टहरु