नवलपरासीबाट लागुऔषधसहित दुईजना पक्राउ


नवलपरासी, भदौं ११ । पश्चिम नवलपरासीबाट प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सुनवल नगरपालिका- ३ देबकोटा टोल बस्ने बर्ष ३८ को केशब श्रेष्ठ र सोही स्थान बस्ने बर्ष ३८ को प्रशान्त गुरुङ रहेका छन ।
उनीहरुको साथबाट नाईट्रोभेट ३० ट्याब्लेट, स्पास्मो १८० क्याप्सुल र ओनोरेक्स १०० एम.एल को २ बोटल परिमाणको लागुऔषध सहित फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले सोमबार साझ अन्दाजी ५ बजेको समयमा रामग्राम नगरपालिका- ४ यातायात व्यवस्था कार्यालय नजिक दक्षिणबाट उत्तर तर्फ आउदै गरेको लु ४५ प ९०९८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनि कालो प्लाष्टिकमा लुकाई छिपाई लागुऔषध राखेको अवस्थामा फेला पारी तत्काल मोटरसाइकल र उनीहरुलाई नियन्त्रणमा लिएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
पक्राउ पर्ने दुवैजनालाई मंगलबार (आज) सम्मानित जिल्ला अदालत परासीबाट लागुऔषध कसुर सम्बन्धि ७ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय परासीको हिरासतमा राखी थप अनुसन्धान भईरहेको बोहराले बताए ।























