राजनीति

‘शर्माको फरक दस्ताबेज होइन, फरक मत हो’

नवलपुर टुडे
२०८१ भदौ १० | बिहान ०९:०५ बजे

दाहालले शर्माको प्रस्तावसमेत समेटेर प्रतिवेदनलाई पूर्णता दिने बताएका छन्। उनले फरक मतसहितलाई लिएर तल्ला कमिटीबाट आएका सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिने बताए।

उनले २०८४ सालको चुनावमा पहिलो पार्टी बनाउनुपर्ने भन्दै उनले भने, ‘पार्टी बनाउनैपर्छ। अबको चुनावमा एक्लै लडेर जित्ने पार्टी बन्नुपर्छ। त्यसका लागि तपाईं–हामी सबै रूपान्तरण, एकताबद्ध हुनुपर्छ। त्यसो भयो भने सम्भव छ।’

बैठकको सुरुमै बोलेका दाहालले करिब ४५ मिनेट बोलेका थिए। त्यसपछि प्रदेशका केन्द्रीय सदस्यहरूले धारणा राख्दै यसबेला नेतृत्वविरुद्ध धावा बोलेको भन्दै शर्माप्रति आक्रोश पोखेको एक केन्द्रीय सदस्यले जानकारी दिए। नेतृत्वमा कमीकमजोरी रहे पनि दाहालको विकल्प नभएको बताइएको ती केन्द्रीय सदस्यको दाबी छ।

 वक्ताहरूलाई उद्धृत गर्दै ती सदस्यले भने, ‘नेतृत्व भनेको दाहाल मात्रै होइन, पार्टी बिग्रिनुमा तपाईंहरूको पनि उत्तिकै हात छ। दाहाललाई मात्रै दोष दिएर तपाईंहरू उम्किन मिल्दैन।’

एक केन्द्रीय सदस्यले त पार्टीका केन्द्रीय पदाधिकारीहरूको वर्ग उत्थान भएको बताउँदै त्यसको छानबिन हुनुपर्नेमा समेत जोड दिएका थिए। ती सदस्यले भने, ‘तपाईंहरू कतिपटक सत्तामा पुग्नुभयो ? तपाईंहरूको कति वर्ग उत्थान भयो ? त्यसको लेखाजोखा हुनुपर्दैन ? अनि दाहाललाई दोष दिएर तपाईंहरू उम्किन मिल्छ?’

दाहालनिकट केन्द्रीय सदस्यहरूले उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको आन्तरिक किचलो बाहिर सार्वजनिक गरेर गम्भीर गल्ती गरेकोसमेत आरोपसमेत लगाए। उनले भनेका थिए, ‘तपाईंले आफ्नो मत पार्टी भित्र राख्नुभयो त्यो ठीक छ तर बाहिर किन लैजानुभयो ? यसले तपाईंकै कद घटायो।’

केन्द्रीय सदस्यहरूले पार्टीमा शुद्धीकरण जरुरी रहेकोमा जोड दिएको अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए। शर्मानिकट केन्द्रीय सदस्यहरूले नेतृत्वको उत्तराधिकारी तयार गरेर राख्नुपर्ने कुराहरू जायज भएको बताएका थिए। उनीहरूले बोलेका कुरा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘नेतृत्वको उत्तराधिकारी तयार गरेर राख्नुपर्छ। त्यसका लागि आवाज उठाउँदा पार्टी फुटाउन लाग्यो भनेर भन्नु उचित होइन।’

माओवादी केन्द्रको गण्डकी प्रदेश स्तरीय परामर्श बैठकमा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल, सचिवहरू दीननाथ शर्मा, हितराज पाण्डे, प्रशान्त, स्थायी कमिटी सदस्य अमृता थापा मगर उपस्थित छन्।

बैठकमा गण्डकी प्रदेशका ६५ केन्द्रीय सदस्य तथा प्रदेशका नौजना पदाधिकारी गरेर ७४ जना भए पनि आइतबार ६० जना मात्रै सहभागी भए। आइतबार ३९ जना केन्द्रीय सदस्यले बोलेको र बाँकीले सोमबार बोलेपछि अध्यक्ष दाहाल तथा पदाधिकारीले जबाफ दिएर बैठक सकिने माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन्।

कमेन्टहरु