माओवादी केन्द्रको ‘सर्कुलर’ : सडकमा उत्रनु पर्ने हुनसक्छ, तयार रहनू


काठमाडौं । ‘जनतातिर फर्किने’ बताइरहेको नेकपा माओवादी केन्द्रले विकसित पछिल्ला राजनीतिक घटनाक्रमले आन्दोलनमा उत्रिनु पर्ने अवस्था आउन सक्ने नेता–कार्यकर्तालाई जानकारी गराएको छ ।
नेकपा माओवादी केन्द्रले प्रदेश समितिका इञ्चार्ज र अध्यक्षलाई परिपत्र जारी (सर्कुलर) गरेर मुलुक २०४७ सालतिर फर्काउने संकेत देखिएको बताएको छ । लगातार ६ दिनको स्थायी कमिटी बैठकपछि परिपत्र जारी गर्दै माओवादीले यस्ताे जनाएकाे छ ।
‘संविधान संशोधन गर्ने भनेर भनिएका विषयहरू सुन्दा १० वर्षको जनयुद्ध र बृहत् शान्ति सम्झौता पश्चात प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशीलगायतका उपलब्धिहरूलाई उल्ट्याएर मुलुकलाई २०४७ सालतिर फर्काउने संकेत देखिन्छ । संविधानले सुनिश्चित गरेको बहुदलीय प्रतिष्पर्धाको प्रणालीलाई उल्ट्याएर दुई दलीय सर्वसत्तावादतर्फ लैजाने दिशामा उद्धत देखिन्छ ।’
परिपत्रमा भनिएको छ, ‘प्रतिगमन, राष्ट्रघात, भ्रष्ट्रहरूको संरक्षण, जनताका दैनिक समस्याहरू आदि विषयलाई लिएर सदनमा प्रतिपक्षमा रहेर सशक्त ढंगले भूमिका निर्वाह गर्नुपर्ने छ । सदनमा खवरदारीका बाबजुद पनि प्रतिगमन, राष्ट्रघात र भ्रष्ट्रहरूको संरक्षण गर्ने दिशामा सरकार झनझन अगाडि बढेमा कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने आवश्यकता लाई पनि ध्यानमा राख्नुपर्ने देखिन्छ ।’
यस परिस्थितिमा पार्टी निर्माणका लागि निजी स्वार्थ केन्द्रित गुट–उप–गुटजन्य प्रवृत्तिहरूलाई दुरूत्साहित गर्दै पार्टीलाई नयाँ उचाईमा एकताबद्द गर्दै लैजानुपर्ने माओवादीले निर्देशन समेत दिएको छ । माओवादीले केन्द्रीय कमिटी बैठकअघि केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच परामर्श बैठक बोलाएको छ । भदौ ५ गतेदेखि बागमती प्रदेशबाट सुरू हुने बैठक असोज ३ गतेसम्म चल्ने बताइएको छ ।























