खेलकुद

टी–२० महिला एशिया कपमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा

नवलपुर टुडे
२०८१ साउन ४ | बिहान ०६:०४ बजे
तस्वीर : क्यान

काठमाडौं, साउन ४ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एशिया कप महिला टी–२० क्रिकेट प्रतियोगितामा आज यूएईको सामना गर्ने भएको छ। करिब ८ वर्षपछि महिला एशिया कपमा सहभागी हुन लागेको नेपालले श्रीलंकास्थित रणगिरी दाम्बुला अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा आज दिउँसो सवा २ बजे यूएईसँग प्रतिस्पर्धा गर्ने भएको हो।

नेपाली महिला टोली अभ्यास खेलका लागि केही दिनअगाडि नै श्रीलंका पुगिसकेको छ। नेपालले श्रीलंकाको महिला विकास टोलीविरुद्ध ३ अभ्यास खेल खेल्दा २ खेलमा पराजित भएको थियो। प्रतियोगिताअन्तर्गत आज नै नेपालको समूहमा रहेका भारत र पाकिस्तानले साँझ सवा ७ बजे प्रतिस्पर्धा गर्ने छन्। नेपालले त्यसपछि समूह चरणमै पाकिस्तानसँग २१ जुलाईमा खेल्दा समूहको अन्तिम खेल भारतसँग २३ जुलाईमा खेल्नेछ।

यसअघिका दुई संस्करणमा सहभागी भए पनि नेपाली महिला टोलीले कुनै खेल जित्न सकेको छैन। सन् २०१२ मा चीनमा भएको प्रतियोगितामा भाग लिँदै नेपालले एशिया कपमा ‘डेब्यु’ गरेको थियो भने सन् २०१६ को संस्करणमा पनि नेपालले सहभागिता जनाएको थियो।

प्रतियोगिताको सेमिफाइनल २६ जुलाईमा र फाइनल २८ जुलाईमा हुनेछ। समूह ए मा रहेको नेपाल समूह चरणका खेलमा कम्तिमा यूएई र पाकिस्तानलाई हराउँदै अघिल्लो चरण पुग्ने ध्याउन्नमा छ। अर्को समूहमा आयोजक श्रीलंकासँगै बंगलादेश, मलेशिया र थाइल्याण्ड रहेका छन्।

 

कमेन्टहरु