Opens in a new tab

गण्डकीमा ५० प्रतिशत रोपाइँ

नवलपुर टुडे

29Shares
dida bag ad

निर्देशनालयका प्रमुख वासुदेव रेग्मीका अनुसार यो वर्ष प्रदेशभरिमा करिब ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ। केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँमा व्यस्त रहेका छन्।

यही असार १५ गते सम्ममा प्रदेशमा १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा त्यसयता बढेर ५० प्रतिशत पुगेको उनले जानकारी दिए। अधिकांश क्षेत्रमा असारभित्रैमा रोपाइँ सकिने प्रमुख रेग्मीले बताए। बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुने गरेको छ। आकाशे पानीमा निर्भर किसान पनि यतिबेला रोपाइँमा व्यवस्त छन्।

यो वर्ष रोपाइँका लागि मलको अभाव नरहेको निर्देशनालले जनाएको छ। प्रदेशको कुल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि एक लाख हेक्टर वरिपरि वर्षे धान लगाइने गरिएको निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलले जानकारी दिइन्।

हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको उनको भनाइ छ। नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ।

धानखेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको छ। गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन्।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ।

गण्डकीका किसानले सावित्री, रामधान, जेठोबूढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन्।