कलङ्की ट्रेड सेन्टरको सटर हस्तान्तरण गर्ने भन्दै १३ करोडभन्दा बढी रकम ठगी गर्ने छ जना पक्राउ


काठमाडौँ, असार ११ । कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भन्दै १३ करोडभन्दा बढी रकम ठगी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भन्दै १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ पैसा उठाएर पनि हस्तान्तरण नगरेपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पङ्गेनी, काठमाडौँका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्जीवी पौडेल रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार उनीहरुले कलङ्की डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिमार्फत कलङ्की ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी डा. विमला भण्डारीबाट १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको आरोप छ ।
पक्राउ परेका ६ जनालाई जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।























