बालेनलाई ओलीको व्यंग्य : भैंसीको ढाडमा झिंगा बस्यो भनेर दंग नपर्नुस्

नवलपुर टुडे
२०८१ जेष्ठ २५ | मध्यान्ह ०३:०२ बजे

काठमाडौं, जेठ २५ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा आफूमाथि लगाएको आरोपको जवाफ दिएका छन् ।
शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अनावश्यक विवादमा आफू पर्न नचाहेको बताए । ‘भैंसीको ढाडमा झिङ्गा बस्यो, त्यसले थाहा पाएको हुँदैन । झिङ्गा दंग परेको हुन्छ, चार लात हाने यसपटक भनेर,’ ओलीले भने , ‘म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्न । राष्ट्रिय राजनीतिलाई एउटा परिपक्व, जिम्मेवार र सभ्य राजनीतिमा लानुपर्छ । असभ्य राजनीतिमा होइन ।’
मेयर बालेनले केही दिनअघि गिरीबन्धु प्रकरणलाई ओझेलमा पार्न महानगरले भत्काएको न्युरोडको सडक पिच गरेको भन्दै सामाजिक सञ्जालमार्फत ओलीविरुद्ध आक्रोश पोखेका थिए ।






















