भारतका प्रधानमन्त्री मोदीले दिए राजीनामा


काठमाडौं, जेठ २३ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति द्रौपडी मुर्मुलाई बुधबार दिउँसो भेटेर प्रधानमन्त्री मोदीले राजीनामा बुझाएका हुन् ।
राष्ट्रपति मुर्मुले प्रधानमन्त्री मोदीले दिएको राजीनामा स्वीकृत गरिसकेकी छिन् । यद्यपि नयाँ प्रधानमन्त्री नबनेसम्म मोदी नै कामचलाउ प्रधानमन्त्री रहनेछन् । भारतमा जुन ८ मा नयाँ सरकार गठन हुनेछ ।
भारतको लोकसभा निर्वाचनको मतपरिणाम मंगलबार सार्वजनिक भएको थियो । मतपरिणाम आएसँगै त्यहाँ नयाँ सरकार गठनका लागि दुई गठबन्धनबीच छलफल भइरहेको छ।
नयाँ नतिजाअनुसार २०१४ पछि कुल ५४३ सिटको भारतीय लोकसभामा कुनै पनि पार्टीको बहुमत आएको छैन । लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले सबैभन्दा बढी २४० सिट जीतेको छ । तर भाजपा नेतृत्वको एनडिएले २९३ सिट जितेको छ । विपक्षी गठबन्धन इन्डियाले २३४ सिट जितेको छ ।
सरकार गठनका लागि एनडिए गठबन्धनका प्रमुख नेताहरू विहारका मुख्यमन्त्री नितिशकुमार र तेलेगु देसम पार्टीका प्रमुख चन्द्रबाबु नायडू बुधबार दिल्ली पुगेका छन् । उनीहरू एनडिएसँग छलफल गर्नका लागि दिल्ली पुगेका हुन् ।






















