अपराध, अर्थ

रौतहटका ८३ वटा सहकारी संस्था सम्पर्कविहीन

अशोक यादव
२०८१ जेष्ठ २३ | बिहान ०९:०२ बजे

रौतहट, जेठ २२ । रौतहटको विभिन्न स्थानमा रहेको ८३ वटा सहकारी संस्था सम्पर्कविहीन भएको तथ्य सार्वजनिक गरिएको छ ।

चन्द्रपुर नगरभित्र रहेको जनहित बहुउद्देश्यीय सहकारी संस्था, डाँफे बचत तथा ऋण सहकारी संस्था, गणपति बचत तथा ऋण सहकारी संस्था, मेरो बचत तथा ऋण सहकारी संस्था र हतैषी बचत तथा ऋण सहकारी संस्थालाई सम्पर्कमा आउन चन्द्रपुर नगरपालिकाले आग्रह गरेको छ ।

सहकारी संस्थाले आफ्नो नियमनकारी निकायमा वार्षिक साधारण सभा प्रतिवेदन तथा मासिक वित्तीय प्रतिवेदन बुझाउनु पर्दछ । तर सहकारी संस्थाको कार्यालय बन्द र लेखा परीक्षण समेत नगरेको पाईएकाले कर चुक्ता प्रमाण पत्र सहित सम्पर्कमा आउन नगरपालिकाले जारी गरेको पत्रमा भनिएको छ ।

सम्पर्कमा नआएमा सहकारी ऐन २०७४ को परिच्छेद १८ र १९ दफा १२२ (घ) (च) (ज) (ढ) (त) तथा चन्द्रपुर नगरपालिका सहकारी ऐन २०७९ को परिच्छेद १८ दफा ८० (ख) (घ) (द) तथा परिच्छेद १८ दफा ८३ को कसुर मानि सोहि अनुसार कारबाही प्रक्रिया अघि बढ्ने उल्लेख गरेको छ ।

पछिल्लो समय सहकारी संस्थाहरुले बचतकर्ताको रकम लिएर फरार हुने, बचतकर्ताको बचत फिर्ता नगर्ने, सहकारीको रकम हिनामिना गर्ने लगायतका समस्याहरु बढ्दै गएपछि सम्पर्कमा आउन आग्रह समेत गरिएको छ ।

मधेस प्रदेशका पर्सा, बारासहित चार वटा जिल्लाका ४ सय ७२ वटा सहकारी संस्थाहरु सम्पर्कविहीन भएको मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । जसका कारण यहाँ सर्बसाधारणहरु जिल्ला प्रशासन, जिल्ला प्रहरीमा आफ्नो रकम फिर्ताको लागि उजुरी लिएर पुग्ने गरेका छन् ।

सहकारीहरु नियमित रुपमा ताकेता गर्दापनि मन्त्रालयमा सम्पर्कमा नआएको, कोपोमिस प्रणालीमा आबद्ध नभएका र केही सहकारी संस्थाहरुसँग सम्पर्कसमेत स्थापित गर्न नसकिएको मन्त्रालयका सहकारी विभागका अधिकृत सुनिल थापाले बताए । यी चार जिल्लमा मात्रै उक्त संख्या बराबरको सहकारी संस्थाहरु हालसम्म सम्पर्कविहीन भएका छन् ।

कमेन्टहरु