कोशी टी–१० को उपाधि वाईआरसीसीले उचाल्यो


विराटनगर । वाईआरसीसी क्रिकेट क्लब विराटनगरले प्रथम कोशी प्रदेश दिवारात्रिकालीन टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । क्रिकेट संघको अनुमतिमा विराटनगर महानगरपालिका ६ को आयोजनामा स्थानीय बरमपुराको एमबीजे क्रिकेट मैदानमा आइतबार साँझ भएको फाइनल खेलमा वाईआरसीसीले एनबीएससी लायन्स क्लबलाई १० विकेटको सजिलो जित निकालेको हो । वाईआरसीसीले एक महिना पहिला यहीको मिल्स कप क्रिकेटको उपाधि पनि जितेको थियो ।
पहिले ब्याटिङ गरेको एनबीएससी लायन्सले प्रस्तुत गरेको १ सय ६ रनको विजयी लक्ष्य वाईआरसीसीले ८ ओभर एक बलमा बिनाक्षति पार गर्दै ट्रफीसहित ५ लाख नगद हात पारेको हो । एनबीएससी लायन्सले २ लाख रुपैयाँमा चित्त बुझायो । वाईआरसीसीको जितमा यू १९ का कप्तान देव खनालले २३ बलमा अविजित ५६ रनको योगदान गरे । प्लेयर अफ द म्याच खनालले ३ छक्का र ७ चौका प्रहार गरे । विनोद भण्डारीले २७ बलमा अविजित ४४ रनको पारी खेल्दा ४ छक्का र ३ चौका प्रहार गरे ।
टस जितेर पहिले ब्याटिङ गरेको एनबीएससीले ५ विकेट गुमाउँदै १ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसका लागि एक ओभरमा ६ छक्का हानेका सन्तोष कार्कीले ६ बलमा १६ रन बनाए । उनी मिनाश थापाले १८ बलमा २४ रन पारी खेल्दा शुभ कंसकर ७ बलमा १७ रन र भिम सार्कीले ३ बलमा १० रनको योगदान गरे । वाईआरसीसीका भुलावान सहनीले २ विकेट, हेमन्त धामी, विपिन खत्री र रासिद खानले समान १–१ विकेट लिए ।
एनबीएससीका सन्तोष कार्की प्लेर अफ द श्रीरिज भए । उनले प्रतियोगितामा २ सय ८८ रन बनाएका छन् । आइतबार नै भएको खेलमा विराटनगर प्यान्थर्सले विराटनगर स्पोटिङ क्लबलाई ८६ रनले पराजित गर्दै तेस्रो भएको थियो । उसले एक लाख रुपैयाँ पाउँदा विराटनगर स्पोर्टिङले ५० हजारमा चित्त बुझाएको थियो ।
जेठ १३ देखि सुरु भएको प्रतियोगितामा मुलुकका विभिन्न ७ वटा क्लबको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई विराटनगरको मेयर नागेश कोइराला र नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह लगायतले पुरस्कार वितरण गरेका थिए ।























