जनयुद्धको बलमा गणतन्त्र

नवलपुर टुडे


काठमाडौ, जेठ १५ ।
गणतन्त्र भनेको लोकतन्त्रको उच्चतम रूप हो । समाज विकासक्रममा जब मानवीय चेतना अत्यन्तै कम थियो । आर्थिक, सामाजिक व्यवस्था अत्यन्तै पिछडिएको थियो । बारम्बार एकअर्को समुदायबिच लडाइँ भइराख्थे । त्यस्तो बेला लोकतन्त्रको अवधारणाभन्दा बलियो, केन्द्रीकृत र निरङ्कुश राजतन्त्रात्मक व्यवस्था उपयुक्त हुन्छ भनेर इतिहासमा राजतन्त्रको सुरुवात भएको हो । यो हजारौँ वर्ष पुरानो कथा हो । पछिल्लो चार/पाँच सय आधुनिक वर्षको सुरुवात भएपछि त्यो पुरानो प्रणाली समाज विकासको बाधक बन्यो भनेर राजतन्त्रको समूल अन्त्य गरेर गणतन्त्रसहितको लोकतन्त्र भन्ने अवधारणा आयो । त्यसै क्रममा अहिले संसारका दुई सय देशमध्ये प्रायः सबै गणतन्त्रमा गएका छन् ।
हाम्रो नेपालको सन्दर्भमा विशिष्ट ऐतिहासिक परिवेश चीन र भारत जस्ता उपमहादेश आकारका देशका बिचमा हिमालको काखमा चेपिएर बसेको मुलुक भएकाले लामो समयसम्म संसारबाट कट्यो । मध्ययुगीन राजतन्त्र टिकिराख्यो । त्यो राजतन्त्र नै विकासको बाधक बन्यो भनेर २००७ साल वरिपरि राजतन्त्र उन्मूलन गर्ने र लोकतन्त्र प्राप्त गर्ने अभियान सुरु भयो । अंश अंशमा अगाडि बढ्यो तर हामीले लोकतन्त्रलाई पूर्णता दिन सकेनौँ । तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ गते सुरु गरेको जनयुद्धले गणतन्त्र र संविधान सभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने मुख्य एजेन्डा बनायो । पछि अरू शक्तिलाई जोडेर लगियो । त्यसैको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।
यस्तो अवस्थामा पनि राजावादी सोच राख्ने शक्तिहरू रहन्छन् । खास गरी समाजमा तीन थरी प्रवृत्ति हुन्छन् भनिन्छ । एउटा अग्रगामी सोच भएका विचार भएका शक्ति जो सङ्ख्यामा थोरै हुन्छन् । उनीहरू इतिहासमा अग्रगामी इन्जिनको काम गर्छन् । अर्को सानो शक्ति ५/१० प्रतिशतसम्मका हुन्छन् । त्यो शक्ति आजको भन्दा हिजोको ठिक थियो भनेर पुरानो शक्तिको महिमा मण्डन गरेर बस्ने पुरानै अवस्थातिर फर्काउन खोज्ने हुन्छन् । ती पुरानो सामन्तवादी सोच राख्ने पुरानो शक्तिबाट फाइदा लिएकाहरू अत्यन्तै अल्पचेतना भएका रूढिवादी चिन्तन भएका मान्छेहरू हुन्छन् । अर्को सबैभन्दा ठुलो पङ्क्ति ७०/८० प्रतिशत ढुलमुल मध्यमार्गी खालका हुन्छन् । यो शक्ति अग्रगामी शक्ति बलियो भएमा अग्रगामीको पक्षमा लाग्छन् । पश्चगामी शक्ति हाबी भए जस्तो देखिए उतैतिर लाग्छन् ।
नेपालमा भर्खर गणतन्त्र आएको १६ वर्ष पुग्दै छ । देशमा भएको केही सानो शक्तिले आजको भन्दा हिजो ठिक थियो भन्नेहरूलाई अन्यथा लिन हुँदैन तर त्यो सत्य होइन । अहिलेको युगमा गणतन्त्रलाई बलियोसँग संस्थागत गरेर बढी समावेशी प्रत्यक्ष लोकतन्त्र बनाउनुपर्ने आवश्यकता छ । थोरै सानो शक्तिले राजतन्त्रको मुद्दा उठायो भनेर आत्तिनु हुँदैन ।
यहाँनिर जोड्नुपर्ने महत्वपूर्ण कुरा के हो भने लोकतान्त्रिक गणतन्त्र साधन हो । साध्य भनेको जनताको सुख, समृद्धि, प्रगति, उन्नति र खुसियाली हो । नेपालमा लोकतन्त्र ढिलो गरी आयो । आर्थिक क्रान्ति पूरा हुन नसकेकाले धेरै जनसङ्ख्या बेरोजगारी, गरिबी, पिछडिएर पिल्सिएको छ । देशमा भएका युवाको पङ्क्ति विदेश जान बाध्य छ । देशभित्र शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता आधारभूत आवश्यकता प्रत्याभूत गराउन सकिएको छैन । वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक विभेद अहिले विभिन्न रूपमा कायम छन् । जसका कारण जनता असन्तुष्ट हुनु स्वाभाविक हो । देशमा भएको परिवर्तनले छिटो परिणाम दिनुपर्ने थियो । त्यो अपेक्षा पूरा नहुँदा जनतामा निराशा छाएको छ । भनिन्छ क्रान्तिकारीको ठुलो तप्का फेरि यथास्थितिवादीमा बदलिन्छन् । हामीकहाँ नेपाली कांग्रेस, त्यसपछि एमाले पछिल्लो समय मूल नेतृत्व क्रान्तिकारी नेतृत्वबाट विमुख हुँदा अलि सत्तालिप्सा हुन पुग्यो । त्यसले गर्दा गणतन्त्रभन्दा हिजो राम्रो हो कि भन्ने शक्तिलाई बल पुगेको छ तर हामीले कमीकमजोरीलाई सच्याएर अघि बढ्ने प्रयास गर्नु पर्छ । लोकतन्त्रको विकल्प अझ उन्नत खालको लोकतन्त्र हो । गणतन्त्रको विकल्प अझ परिमार्जित जनतालाई सुख समृद्धि प्रत्याभूत गराउने गणतन्त्र हो ।
गणतन्त्रको बीजारोपण
गणतन्त्र आवश्यक छ भन्ने स्वयंसिद्ध तथ्य हो । नेपालमा लामो समय राजतन्त्र कायम भएकाले जनताको चेतना पिछडिएको सामन्ती रूढिवादी चिन्तन कायमै रह्यो । जब नेपालमा अढाई सय वर्षदेखि शाहतन्त्र र १०४ वर्षसम्म राणातन्त्र कायम भयो । राणातन्त्र अन्त्य हुने बेलामा शाहतन्त्रको अन्त्य गरिनु पर्छ भन्ने प्रगतिशील सोच राख्ने वामपन्थी शक्तिको विचार थियो । त्यसबेला बलियो शक्तिका रूपमा रहेको कांग्रेस राजासहितको प्रजातन्त्रको पक्षमा उभियो । त्रिभुवनको पालादेखि राजतन्त्रले बिस्तारै टाउको उठाउन खोज्यो । पछि महेन्द्र सत्तामा आएपछि राजतन्त्रलाई बलियो बनाउँदै लगे । कांग्रेसले राजतन्त्रविरुद्ध उभ्याउन सकेन । बिपी कोइराला जस्ता अगुवा चिन्तकले राजतन्त्रसहितको प्रजातन्त्र मानेर जान सकिन्छ भन्ने सोच राख्नुभयो । २०१५ सालको संविधान निर्माण भएपछि जुन चुनाव भयो त्यसैमा टेकेर २०१७ सालमा महेन्द्रले ‘कु’ गरेर फेरि राजतन्त्र स्थापित गरे । त्यसपछि राजतन्त्र अन्त्य गर्ने कि नगर्ने भनेर मुखरित भएर आयो ।
कम्युनिस्ट स्वभावैले गणतन्त्रवादी हुन्छन् । पुँजीवादलाई भन्दा सामान्तवादलाई बढी नजिक ठान्ने पुँजीवादको विरोधमा सामन्तवादी शक्तिलाई साथमा लिएर जान सकिन्छ भन्ने चिन्तन माक्र्सकै पालादेखि थियो । नेपालमा राजावादी चिन्तन बोकेका कम्युनिस्ट पार्टीमा केशरजङ्ग रायमाझीकै नेतृत्वमा अगाडि आयो । त्यसको प्रभावस्वरूप भारत र चीनको १९६२ मा युद्ध त्यसैमा पश्चिमाकरण र कम्युनिस्टकरणको शीतयुद्ध भयो । त्यसका कारण राष्ट्रियताको प्रश्न गम्भीर बनेर आयो । राजाले राष्ट्रवादी शक्तिका रूपमा प्रस्तुत गरेपछि कम्युनिस्टको ठुलो पङ्क्ति राजा नै राष्ट्रवादी शक्ति हो । पुँजीवादी शक्ति कांग्रेसभन्दा सामन्तवादी राजतन्त्र जो राष्ट्रवादी छ त्यो नजिक छ भन्ने कम्युनिस्ट ठुलो पङ्क्तिमा प¥यो । सुरुमा केशरजङ्ग रायमाझीसहित थोरै मान्छे थिए । पछि अधिकांश कम्युनिस्ट पङ्क्ति राजतन्त्र पक्षमा उभिए ।
पुष्पलाल पङ्क्ति राजतन्त्रको विरुद्ध उभिएको देखिन्छ । हामी २०३५÷३६ सालको आन्दोलनदेखि नै राजतन्त्र अन्त्य नभएसम्म लोकतन्त्रले पूर्णता पाउँदैन भन्नेमा दृढ भयौँ । कम्युनिस्ट आन्दोलनभित्र यो बहस छेड्यौँ । त्यहीँ क्रममा २०४६ सालपछि फेरि २०१७ साल दोहोरिने खतरा देखियो । राजाकै नेतृत्वमा संविधान बनाएर जाने राजासहितको लोकतन्त्रको परिकल्पना गरियो । त्यो ठुलो गल्ती गरियो भनेर २०४७ सालदेखि नै असन्तुष्टि जनायौँ । म संविधान सभाबाटै गणतन्त्र संस्थागत गरेर जानु पर्छ भन्नेमा थिएँ । जनआन्दोलन सकिएलगत्तै संयुक्त जनआन्दोलन परिषद्का तर्फबाट १० बुँदे माग अघि सारेका थियौँ । पछि सरकारलाई बुझाएको ४० सूत्रीय माग राखेर जनयुद्ध सुरु गरियो । त्यतिबेला जनताबाट चुनिएका जनप्रतिनिधिमार्फत जनगणतन्त्रात्मक व्यवस्था ल्याउने भनेर गणतन्त्र भन्ने शब्द उल्लेख गरेका थियौँ ।
जब दरबार हत्याकाण्ड भयो । त्यसपछि वंशाणुगत राजतन्त्र कमजोर भयो । म राजतन्त्रसहितको लोकतन्त्र वा जनगणतन्त्र जे भने पनि सम्भव छैन भन्नेमा दृढ थिएँ । मैले कान्तिपुरमा नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन भनेर लेख लेखेँ, त्यो चर्चित पनि भयो । ज्ञानेन्द्र राजा भएपछि त्यसलाई मान्यता दिनुहुँदैन, गणतन्त्र घोषणा गरेर जानु पर्छ भनेर बोल्दै हामी गयौँ । त्यसपछि पार्टीमा सुषुप्त रूपमा माओवादीमा दुई लाइन सङ्घर्ष चल्यो । सङ्घर्ष चल्दै गर्दा नक्कली राजतन्त्रसँग सम्झौता गरेर जान सकिन्छ भन्ने पार्टीभित्र उठ्यो । त्यहीँ विषय २०५९ सालमा जाँदा अन्तरसङ्घर्ष तीव्र रूपमा गयो । जुन बाहिर पनि आयो । ज्ञानेन्द्रले प्रत्यक्ष शासन आफ्नो हातमा लिई माओवादीलाई बाटो बिराएका भनेर सराप्न थालेपछि पार्टीको ठुलो पङ्क्ति राजतन्त्रको विरोधमा जानु पर्छ भन्नेमा आयो । लोकतान्त्रिक गणतन्त्रको कार्यनीति बनाएर चुनवाङ हुँदै शान्ति प्रक्रियामार्फत गणतन्त्रसम्म पुग्यौँ ।
माओवादी जनयुद्धकै कारण गणतन्त्र आएको हो भन्नेमा दुबिधा नै छैन । कांग्रेस एमाले तत्काल कार्यनीतिक नारा बनाउनु पर्छ भन्ने थिएन । कांग्रेस सैद्धान्तिक ढङ्गले राजतन्त्रसहितको प्रजातन्त्र भन्थ्यो । एमालेले तत्काल देशमा गणतन्त्र सम्भव छैन भन्थ्यो । उहाँहरू परिस्थितिले बाध्य भएर तानिनुभएको हो । गणतन्त्रको पक्षमा उभिने मुख्य शक्ति माओवादी नै हो । त्यसमा कुनै दुबिधा छैन तर माओवादीले पूर्ण रूपमा विजय हासिल गरेको थिएन । राजनीतिक एजेन्डामा माओवादीले संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउनु भनेकाले माओवादी आन्दोलनको जित हो । फौजी हिसाबले हामीले सम्झौता गरेकाले कांग्रेस, एमालेसँग सम्झौता गरेर जान बाध्य भएका थियौँ ।
पछि अन्तरिम व्यवस्थापिकादेखि लिएर निर्वाचनमा कसैको बहुमत नआएपछि गठबन्धन बनाएर जानुपर्ने अवस्था आयो । संविधान बनाउने क्रममा र गणतन्त्र घोषणा भएपछि गणतन्त्रको जुन गति हो, त्यसमा जान केही कमीकमजोरी भएकै हुन् । अहिलेको लोकतन्त्रलाई अझ समावेशी र समानुपातिक बनाएर उन्नत लोकतन्त्र भनेका थियौँ । सङ्घीयता जातीय, क्षेत्रीय, लिङ्गीय विभेद अन्त्य गर्ने गरी राज्यको पुनर्संरचना गर्ने भनेका थियौँ । त्यसलाई ठिक ढङ्गले कार्यान्वयन गर्न नसक्दा किसान, महिला, दलितका अधिकार संविधानमा लेखिए पनि व्यवहारमा कार्यान्वयन गर्न ढिला भइराखेका छन् । हामी लोकतान्त्रिक गणतान्त्रिक वाहक भएपछि बोल्ड रूपमा अगाडि लिएर जान सक्नुपर्ने थियो । जनयुद्ध सैद्धान्तिक रूपमा संविधानको अन्तरवस्तु केलाएर हेर्दा धेरै प्रगतिशील कुरा छन् । संविधानको प्रस्तावनादेखि लिएर मौलिक हक अधिकार, राज्यका निर्देशक सिद्धान्त जहाँ सामाजिक आर्थिक नीतिहरू विश्लेषण गरिएको छ । ती सबै हेरियो भने धेरै प्रगतिशील कुरा छन् । दुर्भाग्य क्रान्तिपछि क्रान्तिकारीको नेतृत्व केही दशकसम्म अनिवार्य हुन्छ तर नेपालमा क्रान्ति माओवादी शक्तिले ग¥यो । पछि त्यो शक्ति खिइँदै गएपछि सत्तामा यथास्थितिवादीहरू हाबी हुन पुगे । संविधानमा लेखिएका प्रगतिशील कुराहरू विकास निर्माण समृद्धिका कुरा, उत्पीडित जनताका अधिकारहरू व्यवहारमा कार्यान्वयन गर्न सकेका छैनन् । शान्ति प्रक्रियाका बाँकी काम सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका कामहरू पूरा हुन सकेका छैनन् । सहिद, बेपत्ता परिवारका समस्या यावत् छन् ।
माओवादी आन्दोलन महान् आन्दोलन थियो । त्यसले नेपाली इतिहासमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएर नयाँ युगको पदार्पण गराएकै हो । नेपालमा जुन जटिल खालको भूराजनीति छ । भारत र चीन जस्तो विशाल भूभाग भएका मुलुकको बिचमा छौँ । अहिलेको २१ औँ शताब्दी चौथो औद्योगिक क्रान्ति भनेर विज्ञान र प्रविधिको आविष्कारले संसारमा नयाँ तरङ्ग ल्याइराखेको छ । हिजोकै माओवादी भाष्यलाई समाएर बस्नुभन्दा समय अनुकूल विकास गरेर जानु पर्छ । नेपालको परिवेश सुहाउँदो नयाँ समाजवादको मोडल विकास गरेर पार्टीको समग्र आन्दोलनलाई समाजवादी रूपान्तरण गरेर लग्नु पर्छ । त्यसो गरियो भने आर्थिक विकास र समृद्धि छिटो ल्याउन सकिन्छ भन्ने थियो । भूराजनीतिलाई सन्तुलनमा राखेर देशको सार्वभौम सत्ता जोगाएर जान सकिन्छ । पुरानै नारा भट्याएर बस्ने व्यवहारमा कमजोर हुँदै जाने अवस्था बन्न सक्छ । त्यसो भएकाले नयाँ वैकल्पिक शक्ति बनाएर जानु पर्छ । उन्नत खालको समाजवाद जसमा लोकतन्त्रका आधारभूत पक्ष समेटिएका हुन्छन् । समावेशी र समानुपातिक लोकतन्त्रको चरित्र हुन्छ । त्यसपछि सङ्घीयता पूर्ण रूपमा कार्यान्वयन हुन्छ । देशमा भ्रष्टाचारलाई नियन्त्रण गरेर सुशासन कायम गर्न सकिन्छ । त्यसो भएमा एक दशकभित्र बेरोजगारी र गरिबीको दुष्चक्रबाट निकालेर समुन्नत राष्ट्र बनाउन सकिन्छ भन्ने लक्ष्यका साथ जानु पर्छ ।
इतिहासको निर्मम समीक्षा गरेर त्यसमा कुनै पूर्वाग्रह नराखेर विगतका क्रान्तिले ल्याएका मुद्दालाई रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर नेपाललाई नयाँ ढङ्गले अगाडि लग्ने साहस गर्नु पर्छ । त्यसका अन्तिममा विचार र सिद्धान्तकै कुरा आउँछ । युग सुहाउँदो समाजवादको मोडलको विकास गरेर जानु पर्छ, त्यसमा जान सकिएन । पुरानै कम्युनिस्टका नारा भट्याएर बसियो भने त्यसले डेलिभरी दिन नसक्ने र जनता निराश बन्ने त्यस्तो अवस्थामा चरम दक्षिणपन्थी शक्ति हाबी भएर जाने हुन सक्छ । त्यसैले क्रान्तिकारीहरूले नयाँ समाजवादी, प्रगतिशील शक्तिको रूपमा रूपान्तरण भएर जान आवश्यकता छ । त्यसो भएमा गणतन्त्रको रक्षा हुन सक्छ ।
भावी कार्यभार
संविधानमा केही अपूर्णता छन् । जसरी हामीले यो शासकीय स्वरूप अपनायौँ । यो मिश्रित प्रकृतिको शासकीय स्वरूप आधा संसदीय आधा समानुपातिक भयो । यसले देशमा राजनीतिक स्थिरता दिएन । यसमा तत्कालीन माओवादीका तर्फबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद् हुनु पर्छ भन्ने माग राखेका थियौँ । त्यो अहिले हुनु पर्छ भन्ने लाग्छ । देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभएसम्म राजनीतिक स्थिरता हुँदैन । राजनीतिक स्थिरता नभएसम्म सुशासन दिन सकिँदैन । सुशासन नभएर समृद्धि आउँदैन । देश समृद्ध नभएसम्म गणतन्त्रप्रति जनताको विश्वास बढ्दैन । शासकीय स्वरूपमा परिवर्तन ल्याउनै पर्छ । नेपाली समाजमा भ्रष्टाचारको जरो यति धेरै गाडिएको छ । प्रशासन संयन्त्र, न्यायपालिका, सेना, प्रहरीमा लामो समयसदेखि भ्रष्टाचार भएका छन् । यसलाई रोक्नका निम्ति बलियो जनलोकपाल व्यवस्था गरेर भ्रष्टाचार नियन्त्रण गर्नु पर्छ भन्ने त्यतिबेलादेखिकै माग हो । त्यो अहिलेसम्म पूरा हुन सकेको छैन । बलियो जनलोकपाल बनाएर उच्च तहमा रहेका सबैको सम्पत्ति छानबिन गरेर गएमा देशलाई समृद्धिको दिशातिर लग्न सकिन्छ ।
सङ्घीयतालाई ठिक ढङ्गले कार्यान्वयन गर्न नसक्दा सङ्घीयताप्रति नै वितृष्णा बढ्दै गएको छ । त्यसलाई बुझेर नेपाल जस्तो बहुभाषिक, बहुजातीय, क्षेत्रीय विवितायुक्त मुलुकमा सङ्घीयतालाई कामकाजी बनाएर लग्नु पर्छ । सङ्घीयतालाई कमजोर बनाएरभन्दा सङ्घीयताका त्रुटिहरूलाई सच्याएर बलियो बनाएर जानु पर्छ । स्थानीय तह र प्रदेशलाई बढी अधिकार दिएर जाँदा छिटो विकास र समृद्धि ल्याउन सकिन्छ भन्ने भाष्यलाई निर्माण गरेर जानु पर्छ । मुख्य कुरा आर्थिक विकास र समृद्धि नै हो । भारत र चीन जस्ता उदीयमान शक्तिको बिचमा छौँ । यी दुवै देशका मूल्यशृङ्खलासँग जोडिएर लाभ लिन सकियो भने केही वर्षभित्र समुन्नत देशको रूपमा अगाडि लिएर जान सकिन्छ । बढ्दै गएको बेरोजगारी र गरिबीको दुष्चक्रबाट माथि उठ्छौँ । अहिलेका युवाका नयाँ इच्छा आकाङ्क्षालाई पूरा गर्न सक्छौँ । त्यसो भएमा गणतन्त्रप्रति जनताको आस्था बढेर जाने छ ।
(पूर्वप्रधानमन्त्री भट्टराईसँग गोरखापत्रका वीरेन्द्र ओलीले गर्नुभएको कुराकानीमा आधारित)

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















