रास्वपाका सभापति रवि लामिछानेले कार्यक्रमका लागि लिएको पैसा नतिरेपछि हिमालयन बैंकले हाल्यो मुद्दा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कार्यक्रमका लागि लिएको पैसा नतिरेपछि हिमालयन बैंकले अदालतमा मुद्दा हालेको छ । ‘ग्यालेक्सी फोरके’मा छँदा नयाँ कार्यक्रम ल्याउने भन्दै सिभिल बैंकबाट एड्भान्समा लिएको ६२ लाख १५ हजारको सावा व्याज दुवै नतिरेपछि बैंकले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
यसबीचमा सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि पनि उक्त रकम भुक्तानी नभएपछि बैंकले मुद्दा दायर गरेको हो । मुद्दामा रविलाई भने विपक्षी बनाइएको छैन । २०७८ फागुन २५ गते गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी फोरकेबाट प्रशारण हुने कार्यक्रमका लागि लिएको त्यो पैसाको सावा व्याज नबुझाएपछि हिमालयन बैंकले एक करोड २४ लाख असुलउपरको दावीसहित मुद्दा दायर गरेको हो ।
गोर्खा मिडियाका तर्फबाट विपीन आचार्यले हस्ताक्षर गरेका छन् । आचार्य समेत बैंकको सम्पर्कमा नआएपछि रकम फिर्ता लिन अदालतमा मुद्दा दायर गरेको हो । गत वैशाख ४ गते नै दायर भएको मुद्दामा म्याद तामेल भइसकेको छैन ।
त्यसैले पेसी तोकिने मिति समेत अहिले नै भन्न नसकिने जिल्ला अदालतका अधिकारीले जानकारी दिएका छन् ।























