राजनीति

रवि लामिछानेको चितवन कार्यालयका सीईओ बरालले राजीनामा दिए

नवलपुर टुडे
२०८१ बैशाख ३१ | मध्यान्ह ०७:०१ बजे

चितवन,बैशाख ३१ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन– २ का सांसद रवि लामिछानेको चितवन कार्यालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले राजीनामा दिएका छन् । उनले लामिछानेको चितवन कार्यालयमा ९ महिनाअघि काम सुरु गरेका थिए ।

उनले राजीनामा पत्रमा व्यक्तिगत कारणले राजीनामा दिएको उल्लेख गरेका छन् । तर पछिल्लो समय उनलाई रास्वपाले चितवन छाडेर केन्द्रीय कार्यालय काठमाडौंमा काम गर्न भनेको एक नेताले बताए ।

‘सुरु सुरुमा त उहाँले केही काम गरे जस्तो गर्नुभएको थियो, तर पछिल्लो समयमा उहाँका गतिविधिहरु ठीक थिएनन्’, ती नेताले भने, ‘पार्टी सभापतिको चाहना र स्पिरिट अनुसार उहाँले काम गर्न नसकेपछि सिधैं हटाउन भएन, काठमाडौं कार्यालयको एक युनिटमा काम गर्न भनियो, उहाँले पछि राजीनामा दिनुभयो ।’

बरालले मासिक एक लाख ५० हजार रुपैयाँ तलब लिने गरी काम सुरु गरेका थिए । गत वर्ष साउनमा विज्ञापन आह्वान गरेर लामिछानेले निर्वाचन क्षेत्र कार्यालयमा सीईओ राखेका थिए । उनलाई एक वर्षका लागि भनेर नियुक्त गरिएको भए पनि ८ महिनामै सम्झौता रद्द गरिएको रास्वपाका एक नेताले जानकारी दिए ।

कमेन्टहरु