गृहमन्त्री रविको प्रश्नमा गगनको जवाफ– राजनीति छोड्न तयार छु, प्रमाण किन मेटाएको ?


काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि लगाएको आरोप पुष्टि नभए आफू राजनीति छाड्न तयार भएको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।गृहमन्त्री लामिछानेले आफूले निवेदन दिएर ऋण लिएको तथ्य पुष्टि नभए राजनीति छाड्न तयार हो कि होइन भनी सोधेको प्रश्नको जवाफ दिँदै थापाले भने, “पुष्टि भयो भने तपाईंले छोडे पनि हुन्छ । गृहमन्त्रीले ऋण लिएको पुष्टि भएन भने उहाँले राजनीति छोडे हुन्छ । कहिले महान्यायाधीवक्ता, कहिले प्रहरी प्रमुखलाई बोल्न लगाउनै पर्दैन । संसदीय छानबिन समितिको नेतृत्व जसले गरे पनि हुन्छ । त्यहीँबाट पुष्टि गरे भइहाल्छ ।”
उनले अहिले आफूहरुले माग गरेको समितिले सहकारीका सम्बन्धमा आएको समस्या समाधानको बाटो देखाउने बताए । “त्यो समितिले गर्ने के हो त ? त्यसको आधारमा एउटा निष्कर्ष निस्कन्छ । सहकारीमा आम मानिसको रकम रहेको छ । फिर्ता कसरी गर्ने ? जसले ठगी गरेको छ । उसको सम्पत्ति बेचेर पनि फिर्ता गर्ने हो । हाम्रो दाबी छ गृहमन्त्रीको यसमा संलग्नता छ,” थापाले भने, “यसमा बाहिर बोल्नै पर्दैन । संसदीय समितिमा प्रमाणित गरे भइहाल्छ ।”उनले आफ्ना बारेमा पनि आरोप लागेको उल्लेख गर्दै छानबिन गर्न समिति बनाइदिए हुने बताए ।
“केपी ओलीले माया गर्नुभएको छ, प्रधानमन्त्रीले माया गर्नुभएको छ, प्रहरी प्रमुख बोल्नुभएको छ, महान्यायाधीवक्ता लगाउनुभएको छ,” थापाले भने, “त्यति हुँदा पनि हामीले संसदीय समिति बनाउँ भन्दा भागेको भाग्यै किन ? सरकारको तर्फबाट महान्यायाधीवक्ताले तहकिकात भएको ठाउँमा गएर बोल्न पाउँछ ? अहिलेको महान्यायाधीवक्तालाई मुद्दा हालिदियो भने लाग्छ भनेर पूर्व महान्यायाधीवक्ताले भन्नुभएको छ । यस्तो काम सरकारले गर्न मिल्छ ?”
उनले आफूहरुले गृहमन्त्रीलाई बोल्न दिने तयारी गरेको भए पनि त्यसपछि कांग्रेसका कसैले पनि बोल्न नपाउने भनेर बोल्न रोक लगाइएको बताए ।
“हामी पनि संसदको खेलमा कमजोर छैनौँ । संसद् नै बनाएको हो,” उनले भने, “सभामुखले इशारा गर्ने, अनि बोल्न खोज्ने ? यहाँ मिलेमतो भएको कुरा हामीलाई थाहा छैन ? जतिबेर बोले पनि हुन्छ हामी सुन्छौँ । गृहमन्त्री बोलेपछि कांग्रेस बोल्न पाउँदैन भन्ने ? प्रधानमन्त्री र एमाले अध्यक्ष नै वासिङ मेसिन बोकेर बस्नुभएको छ त ।” उनले अहिले सहकारीको विषय निरुपण भएन भने डुबेको पैसा पीडितले कहिले पनि नपाउने बताए ।
“निजी कम्पनीमा गएको पैसा फिर्ता भएन भने कसैले पाउँदैन,” थापाले भने, “एमाले बैठकको कुरा सुनेँ । २०८४ सालसम्म हामीलाई सरकारतिर फर्किन छैन । हामीले गर्न पर्दैन । तपाईंहरु नै दल फुटाउन लाग्नुभएको छ । राजीनामा दिनुपर्दैन, सरकार चलाउनुस् ।” थापाले गृहमन्त्रीले अहिलेसम्म प्रमाण लुकाएको आफूहरुले सूचना पाएको बताउँदै भने, “प्रमाण लुकाउनुपर्ने लुकाइसक्नुभयो । रुपन्देहीमा अनुसन्धान गरिरहेका प्रहरी माथिको दबाब थेग्न नसकेपछि अहिले गंगालाल अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको छ । गृहमन्त्रीले तथ्य प्रमाण तोडमोड गर्ने जति गर्नुभयो ।”
उनले आफूहरुको माग अब संसद्भित्र मात्रै नरहने बताउँदै भने, “संसद्बाट अब सडकमा आउँछ । पुष्टि भएन भने मैले राजनीति छोडिदिन्छु । चुनौती मैले स्वीकार गरिसकेँ । नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेलाको अनुसन्धान रिपोर्ट किन लुकाउनुभएको ? त्यतिमात्रै बताइदिए हुन्छ । बुटवल वा पोखरामा भइरहेको अनुसन्धान किन रोकिएको ? त्यतिमात्रै बताइदिए हुन्छ ।”






















