रक्सौलमा नवलपरासी गैंडाकोटका युवक हतियारसहित पक्राउ, एकजना फरार


वीरगन्ज । वीरगन्ज–रक्सौलस्थित सीमामा रहेको मितेरी पुलबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक नेपाली युवकलाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी गैंडाकोट निवासी २५ वर्षीय मनोज महर्जन रहेका छन् । नवलपरासीकै विवेक मल्ल ठकुरी भने फरार भएको एसएसबीले जनाएको छ ।
एसएसबीका अनुसार महर्जनलाई दुई थान पेस्तोल र दुई थान म्यागजीनका साथ पक्राउ गरिएको हो । मेड इन युएस र मेड इन जर्मनी लेखिएका दुईवटा पेस्ताले मध्ये एउटामा म्यागजिन लोड रहेको एसएसबीले जनाएको छ । दुईजना अपराधिक गतिविधीमा संलग्न व्यक्ति भारत प्रवेश गरेको विशेष सूचनाको आधारमा एसएसबीले जाँच गर्दा दुवै जना डंकन रोडतर्फ भागेका थिए ।
भाग्ने क्रममा उनीहरूले पेस्तोल र म्यागजिन झाडीमा फालेका थिए । महर्जनलाई पक्राउ गरिएपनि ठकुरी भाग्न सफल भएका एसएसबीले जनाएको छ । इन्सपेक्टर राजीव नन्दन सिन्हाका अनुसार उनीहरु हत्या, लुटपाट वा कुन प्रयोजनका लागि हतियारसहित भारत प्रवेश गरेको विषय हालसम्म यकिन भइसकेको छैन् । नेपाल प्रहरीसँग समन्वय गरि थप अनुसन्धान अगाडि बढाइएको छ ।























