अपराध

पोखराबाट पर्यटकलाई अनावश्यक हैरानी दिएर अभद्र व्यवहार गर्ने पाँचजना पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख २५ | बिहान ०९:०१ बजे

पोखरा, वैशाख २५ । पर्यटकलाई हैरान पारेको आरोपमा पोखराबाट पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुमार शर्माका अनुसार सोमबार पोखरा महानगरपालिका–६ लेक साइड र हल्लन चोक क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्।

पोखरा महानगरपालिका–६ डिहिकोपाटनका २६ वर्षीय सन्तोष श्रेष्ठ, लालुपाते मार्गका २५ वर्षीय मीनप्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, खहरे चोकका २५ वर्षीय सुशान्त क्षेत्री र २५ वर्षीय अमित भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले लेकसाईड र हल्लन चोक क्षेत्रमा नेपाली तथा विदेशी पर्यटकलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटेल मिलाइदिने भन्दै झोला तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक हैरानी दिएर अभद्र व्यवहार गरेको प्रहरीले बताएको छ। उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको छ।

कमेन्टहरु