कपिलवस्तुबाट हातहतियार र मृगको मासुसहित चार जना पक्राउ


कपिलवस्तु, वैशाख २४ । कपिलवस्तुबाट प्रहरीले विभिन्न हातहतियार र जङ्गली जनावर मृगको जस्तो देखिने मासुसहित ४ जनालाई पक्राउ गरेको छ । आइतबार राती हातहतियार र करिब ३० किलो मासुसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका-१ जितपुर बस्ने ७३ वर्षीय धन बहादुर सेन, सोही नगरपालिका-१ बुङची बस्ने असिम खाण, सोही नगरपालिका-२ बस्ने ४१ वर्षीय दुर्गा बहादुर शाही र रूपन्देही बुटवल उपमहानगरपालिका-११ मिलनचोक बस्ने ५४ वर्षीय चित्र मल्ल रहेका छन् ।
असिम खाणको घरको बरान्डामा जङ्गली जनावरको मासु काटी भाग लगाउँदै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त परिमाणको मासुसहित पक्राउ गरेको हो । उक्त स्थानबाट बा.१३ च ८१८४ नम्बरको कार, लु.५१ प ५२६१ नम्बरको मोटरसाइकल र १६ राउण्ड टोटा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
साथै धन बहादुर सेनको घर तलासी गर्दा कोठाभित्र लुकाइछिपाई राखेको बाह्र बोर एकनाले बन्दुक २ थान, बाह्र बोर दुई नाले बन्दुक १ थान, दुवै बन्दुकमा लाग्ने टोटा २० थान, २२ हर्नेट लेखेको गोली ३ थान, म्याग्नममा लाग्ने गोली थान ३ समेत बरामद गरेको प्रहरीको भनाइ छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।























