राजनीति

सभामुख घिमिरेले बोलाए प्रधानमन्त्री प्रचण्ड’सहित शीर्ष नेताहरूको बैठक

नवलपुर टुडे
२०८१ बैशाख २४ | बिहान ११:०१ बजे

काठमाडौं, वैशाख २४ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूसँग छलफल गर्न बैठक बोलाएका छन् । 
मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफलका लागि बैठक बोलाएका हुन् । 

यही वैशाख २८ गतेका संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफूहरूका माग पूरा नभएसम्म संसद् बैठक चल्न नदिने अडान राखेको छ । आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन् । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् । 

सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका उनको सचिवालयले जनाएको छ ।

कमेन्टहरु