पाल्पामा डढेलो लगाउने १८ जना पक्राउ


पाल्पा, वैशाख १८ । पाल्पामा आगो लगाउने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तानसेन, बगनासकाली र रिब्दीकोटका विभिन्न स्थानमा आगो लगाउने १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बारी तथा खेतका कान्लामा आगो लगाई छाड्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । आफ्नो बारी तथा खेतमा आगो लगाएर छाड्दा वनमा डढेलो लागेको उनले बताए । आगोलागीमा संलग्न भएका बालबालिकादेखि ९६ वर्षसम्मका बृद्धा रहेका छन् ।
पक्राउ परेकालाई एक दिन प्रहरी हिरासतमा राखेर सम्झाईबुझाई गरेपछि आफन्तको जिम्मा लगाइएको छ । डढेलो लगाउने कार्यमा संलग्न अधिकांशले खरबारीमा आगो लगाएर वेवारिसे छाडेको भेटिएको प्रहरीले जनाएको छ ।
अधिकांश स्थानका मानिसले घाँस उमार्ने नाममा र वज्यजन्तु भगाउने नाममा आगो लगाउने प्रचलनलाई निरुत्साहित गर्न संलग्न मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख नरेन्द्र चन्दले बताए ।
एक महिनायता जिल्लाभर डढेलो बढेको छ । गत वर्ष यही समयमा ५० बढी स्थानमा डढेलो लागेकोमा यो वर्ष बढेर सय बढी स्थानमा डढेलो लागिसकेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।























