इलाम–२ मा १० प्रतिशत भन्दा कम मत ल्याएका मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत


काठमाडौं, वैशाख १८ । इलाम–२ को उपनिर्वाचनमा कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुसहित १६ जनाको जमानत जफत भएको छ ।
प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ । कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ ।
तर, इलाम–२ को अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार मिलन लिम्बूले जमानत पनि जोगाउन सकेनन् । उनले ५ हजार ५० भोट मात्र ल्याए ।
इलाम–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए । त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे ।






















