खेलकुद

रोहित पौडेलको शानदार शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाल विजयी

नवलपुर टुडे
२०८१ बैशाख १५ | मध्यान्ह ०४:०१ बजे

काठमाडौ, वैशाख १५ । नेपालका कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको छ । शनिबार त्रिवि खेल मैदानमा भएको पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गर्दै विजयी बनेको हो ।

नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो । नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले । उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का हिर्काए ।

दीपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रनको योगदान दिए । उनले यस क्रममा २ चौका र १ छक्का हिर्काए । कुशल भुर्तेल र कुशल मल्लले १६–१६ रन बनाए । खेलको अन्त्यमा गुल्सन झाले दुई चौका हिर्काउँदै टोलीलाई जितसम्म डोर्‍याए । वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डे र ओबेड म्याकोयले २–२ विकेट हात पारे ।

कमेन्टहरु