एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि


काठमाडौं, वैशाख ८ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठक आजदेखि सुरु हुँदैछ । आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुने दुई दिने सो बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार ४५४ जना सहभागी हुनेछन् ।
शुक्रबार पत्रकार सम्मेलनमा एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्नेसमेत बताए । बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट–चिवाभज्याङ यात्राको समीक्षा हुने उनले बताए ।
यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले जानकारी दिएका छन् । बैठकमा एकजना विशिष्ट व्यक्तिलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरिने छ ।
कार्यक्रममा अध्यक्ष ओलीका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायत अन्य पार्टीका शिर्ष नेताहरुलाई निमन्त्रणा पठाइएको जनाएको छ ।






















