राजनीति

राप्रपाले आज काठमाडौँमा बृहत प्रदर्शन गर्दै, ५० हजार भन्दा बढी मानिस उतार्ने दाबी

नवलपुर टुडे
२०८० चैत्र २७ | बिहान ०७:१२ बजे

काठमाडौँ, चैत २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा बृहत प्रदर्शन गर्दै छ ।संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा बृहत् प्रदर्शन गर्न लागेको हो । 

अपराह्न भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुने राप्रपाले जनाएको छ । राप्रपाले आजको प्रदर्शनमा ५० हजार भन्दा बढी मानिसलाई उतार्ने दाबी गरेको छ । 

पार्टीले अघि सारेको ४० बुँदे माग पूरा गराउन दबाब दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरिएको र आज काठमाडौँमा हुन लागेको जनप्रदर्शनमा देशभरका कार्यकर्ताहरू सहभागी हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । 

राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत उल्लेख गरेको छ ।

सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललिता निवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठुलो सुन काण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राप्रपाको छ । 

राप्रपाले प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सुरक्षाको उचित प्रवन्धका लागि सरकारको ध्यानाकर्षण समेत गराइसकेको छ । यस्तै, राप्रपाले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनमा अवरोध गर्न खोजे प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ ।

कमेन्टहरु