राजनीति

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गराइन्छ : प्रधानमन्त्री दाहाल

नवलपुर टुडे
२०८० चैत्र २२ | मध्यान्ह ०७:१२ बजे

काठमाडौं, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत सरकारसँग हवाईमार्गका लागि कुरा भइरहेको तथा चीन र श्रीलंकासँग सीधा उडानका लागि संवाद भइरहेको स्पष्ट गरे। दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीन सरकारबाट प्राप्त ऋणलाई अनुदानमा परिणत गर्न पनि आफूले कोसिस गरिरहेको जानकारी गराए।

उनले हेटौँडा, बुटवल, जनकपुर, विराटनगरका रुग्ण उद्योगहरू पुनः सञ्चालनमा ल्याई कपडा, चिनी, धागो, जुट आदि उत्पादन गराउन छलफल भइरहेको जानकारी गराउँदै कोशी नदीमा तटबन्ध बनाउन र कोशी टप्पुको जग्गा संरक्षणका लागि काम भइरहेको स्पष्ट गरे।  उनले नदी र नदी जोड्ने खालका परियोजना अघि बढाई सिँचाइ सुविधामार्फत उत्पादन बढाउने र भूमि सुधारलाई लालपुर्जा वितरणको कामका रूपमा नलिई जमिनको चक्लाबन्दी र उत्पादनमा जोड दिई समाजवादको आधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । 

प्रधानमन्त्री दाहालले सशस्त्र जनयुद्धका सहिद, घाइते र बेपत्ता परिवारका लागि न्याय तथा राहत दिन सरकार गम्भीर रहेको बताउँदै सत्य तथा मेलमिलाप आयोग विधेयक चाँडै संसदीय समितिबाट पारित हुने विश्वास व्यक्त गरे। 
 

कमेन्टहरु