राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र भरतपुर महानगरकी प्रमुख रेनु दाहाललाई सम्मान


चितवन, चैत १३ । उद्योग वाणिज्य संघ–चितवनले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र भरतपुर महानगरकी प्रमुख रेनु दाहाललाई सम्मान गरेको छ । आज संघको सचिवालयमा एक कार्यक्रम गरी राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित भएकोमा अध्यक्ष दाहाललाई र बेलायतमा प्रतिष्ठित ‘पोलिटिकल एन्ड पब्लिकलाइफ अवार्ड’ अन्तर्गत सन् २०२४ को ’इन्टरनेशनल मेयर अवार्ड’ प्राप्त गरेकोमा भरतपुरकी प्रमुख रेनुलाई संघले सम्मान गरेको हो ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले राष्ट्रिय दुवै जनालाई बधाईसहित स्वागत गर्दै चितवन जिल्लाको आर्थिक तथा सामाजिक विकासका लागि संघले कृषि, शिक्षा, स्वस्थ्य र पर्यटनलाई मुख्य आधार स्तम्भको रूपमा जिल्लाको चौतर्फी विकास गर्न सकिने बताए । कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष दाहालले राष्ट्रिय एकतालाई मिलाएर लैजाने केन्द्र राष्ट्रियसभा भएको बताउँदै उनले राष्ट्रियसभामा संविधानले व्यवस्था गरे अनुसार जिम्मेवारीमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा भरतपुरकी प्रमुख रेनु दाहालले भरतपुर महानगरले अन्तर्राष्ट्रिय पुरस्कार पाउनु महानगरवासीको गर्व विषय भएको बताउँदै महानगरको आर्थिक एवम् सामाजिक विकासमा अझ बढी जिम्मेवारी थपिएको बताइन् ।
उनले भरतपुर महानगरपालिकाले भ्रमण वर्षको अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरु भरतपुरमा गर्न संघीय तथा सबै प्रदेश सरकार र स्थानीय तहमा समन्वय गरेको बताउँदै निजी क्षेत्रको समेत सहकार्य र सक्रियताको अपेक्षा गरिन् । उनले महानगरले गर्न लागेको भावी कार्यक्रमको बारेमा समेत जानकारी गराएकी थिइन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष देशीराम प्रधानले चितवनमा औद्योगिक क्षेत्र विकासमा पहल गर्न राष्ट्रियसभा अध्यक्ष र महानगर प्रमुखलाई अनुरोध गरेका छन् । कार्यक्रममा राष्ट्रिय सभाअध्यक्ष दाहाललाई बधाईसहित सम्मानपत्र उद्योग वाणिज्य संघ चिवनका पूर्वअध्यक्ष प्रधानले र महानगरपालिका नगर प्रमुख दाहाललाई बधाईसहित सम्मानपत्रउद्योग वाणिज्य संघ चिवनका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधानले हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटालगायत संघका पूर्वअध्यक्षज्यूहरु प्रचण्डलाल प्रधान, उत्तमलाल चुके, डा. तिलचन्द्र भट्टराई, कल्याण जोशी, राजन गौतम, राजु श्रेष्ठ, संघका पदाधिकारी, कार्यसमिति सदस्यविभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गरेका छन् ।






















