अपराध

बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

नवलपुर टुडे
२०८० चैत्र ५ | मध्यान्ह ०५:१२ बजे

काठमाडौ, चैत ५ । बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छन् ।

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी २४ वर्षीया मानुकमारी सिंहलाई धरौटीमा रिहा गरिएको हो । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मनकुमारीलाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनी धरौटी बुझाएर छुटेकी हुन् ।

दैलेख नौमुले गाउँपालिका–१ घर भई काठमाडौं काँडाघारी बस्ने मनकुमारीले फागुन ११ गते काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठका बच्चा चोरी गरेकी थिइन् ।

बच्चा चोरी भएपछि प्रहरीले उनलाई त्यही राति पक्राउ गरी बच्चाको उद्धार गरेको थियो । प्रहरी वृत्त सिंहदरबारले उनीविरूद्ध अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान गरी चैत २ गते मुद्दा दायर गरेको थियो । 

उनले प्रहरीसँग विवाह गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएपछि बच्चा चोरी गरेको बयान दिएकी थिइन् । उनले डाक्टरलाई देखाउँदा सन्तान नहुन सक्छ भनेपछि बच्चा चोर्ने योजना बनाएको बताएकी थिइन् ।

कमेन्टहरु