राजनीति

नेसपाको यादव समूह नेकपा माओवादी केन्द्रसँग एकता घोषणा, डा. बाबुरामको आपत्ति

नवलपुर टुडे
२०८० चैत्र ३ | मध्यान्ह ०९:१२ बजे

काठमाडौं, चैत ३ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको महिन्द्र राय यादव समूहबीच शनिबार एकता घोषणा भएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादवसहितको समूहले माओवादी केन्द्रसँग एकताको घोषणाको सहमति गरेको हो ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले एकताको निर्णय गरेको भन्दै माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले शनिबार संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा उल्लेख भए अनुसार पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा माओवादी केन्द्रबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा छन् भने नेपाल समाजवादी पार्टीबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सदस्य छन् ।

maoist NEsapa

सहअध्यक्ष श्रेष्ठले एकता गर्ने आफ्नो पार्टीको आधिकारिक निर्णय भएको दाबी गरे । ‘सिंगो नेपाल समाजवादी पार्टी एकतामा जाने हो । हामीले मंसिरको ६ गते नै पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टी एकता संयोजन समिति बनाएका थियौं । र त्यो पार्टी एकता संयोजन समितिको बैठक विविध कारणले आजसम्म बस्न सकेको थिएन । आज बस्यो र यसले पार्टी एकता गर्ने निर्णय गर्‍यो’, उनले एकता घोषणापछि न्यूज एजेन्सी नेपालसँग भने । माओवादी केन्द्रसँग पार्टी एकता गर्ने धेरै पुरानो कुरा हो भन्दै उनले विविध कारणले ढिलाइ भएको बताए । ‘पार्टी एकता गर्न नसकेपछि माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेको हो । त्यो त पार्टी एकता गर्ने शर्तसहित गरेको थियौं नि त’, श्रेष्ठले भने ।

डा. बाबुरामले भने : पार्टी अपहरण भयो

एकता घोषणाप्रति नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । भट्टराईले ४ चैतमा केन्द्रीय कार्यकारिणी समिति र ५ चैतमा केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर बैठकको अघिल्लो दिन अर्का अध्यक्ष यादव समूहले माओवादी केन्द्रसँग एकता घोषणा गरेको हो ।

एकता घोषणालाई भट्टराईले आफ्नो पार्टी अपहरण गरेको संज्ञा दिएका छन् । सञ्चार माध्यममा प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘यो त कुनै पार्टीलाई अपहरण गरेर लगेजस्तो अुनभूति भएको छ ।’

photo 2024 03 16 21 07 11

उनले प्रधानमन्त्रीले नै यस्तो गतिविधि गर्नु नैतिक नहुने प्रतिक्रिया पनि दिएका छन् । ‘भोलि कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक छ । पार्टीमा छलफल नै नगरीकन भएको यो त राजनीतिक ठगी हो । हाम्रो पार्टीलाई पनि थाहा छैन’, डा. भट्टराईले भने, ‘देशकै प्रधानमन्त्रीले यस्तो गर्नुभयो भने देशमा त नैतिकताको ठूलो खडेरी भयो, बेइमानी भयो ।’

भट्टराईले पार्टी एकताका लागि बनाइएको वार्ता समिति आफ्नो अध्यक्षतामा रहेको भन्दै अर्का अध्यक्ष महिन्द्र राय यादवले प्रचण्डसँग गरेको एकता वार्ताको वैधानिकतामाथि प्रश्न उठाएका छन् । त्यसैले यो घटनालाई बाबुरामले पार्टीका केही मानिस माओवादीमा सामेल भएको व्याख्या गरे । ‘मेरै नेतृत्वमा वार्ता समिति छ, त्यसको बैठक बसेकै छैन’, भट्टराईले भने, ‘केही मान्छे पार्टी छाडेर जान सक्छन्, बेग्लै कुरा होे । पार्टी नै गयो भन्न मिल्दैन, अध्यक्ष मै छु, निर्वाचन आयोगमा मेरै हस्ताक्षर चल्छ ।’

यादव समूहले भने भट्टराईले बोलाएको पार्टीको बैठक आधिकारिक नभएको पनि जिकिर गरेको थियो । महासचिव रमेशप्रसाद यादवले दुबै अध्यक्षले सहमतिमा बोलाएको बैठक मात्र आधिकारिक हुने भन्दै महिन्द्र राय यादवको अहमति रहेको भन्दै १ चैतमा विज्ञप्ति जारी गरेका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट अलग भएर डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवले २०७९ साउनमा नेपाल समाजवादी पार्टी गठन गरेका थिए । त्यसै वर्ष ४ मंसिरमा भएको आम चुनावमा अध्यक्ष यादवले माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै सहअध्यक्ष गंगानारायण श्रेष्ठले बागमती प्रदेशसभा सदस्य र नेता फणीन्द्र देवकोटाले गण्डकी प्रदेशसभा सदस्यमा चुनाव लडेका थिए । निर्वाचित भएका उनीहरु तीनैजना प्रतिनिधिसभा र प्रदेशसभामा माओवादी संसदीय दलमै रहेका छन् । ३० चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदा महिन्द्र राय यादवले माओवादी दलको तर्फबाट संसदमा बोलेका थिए । त्यस्तै सहअध्यक्ष गंगानारायण श्रेष्ठ बागमती प्रदेशसभामा माओवादी नेतृत्वको सरकारमा मन्त्री छन् ।

गण्डकी प्रदेशसभा सदस्य देवकोटा भने हालसम्म बाबुरामकै मान्यता अनुसार पार्टी एकताको विपक्षमा छन् । नेपाल समाजवादी पार्टीमा यादव समूह माओवादीसँग एकताको पक्षमा भए पनि बाबुराम विपक्षमा थिए । उनले माघ तेस्रो साता निर्वाचन आयोगलाई पत्र लेखी माओवादी केन्द्रबाट चुनाव जितेका आफ्ना सांसदहरुलाई छुट्टै दलको रुपमा अभिलेख गरिदिन आग्रह गरेका थिए । तर यसप्रति अर्का अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठले आपत्ति जनाएका थिए ।

कमेन्टहरु