राजनीति

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

जगत ठाडा मगर
२०८० फाल्गुन ३० | बिहान ०७:११ बजे

काठमाडौं, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिँदैछन् ।आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको प्रतिनिधि सभाको बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको हुन् ।

उनले संविधानको धारा १०० को उपधारा (२) बमोजिम यो तेस्रो पटक विश्वासको मत लिन लागेको हो । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ ।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितका दलसँग नयाँ सत्ता समीकरण बनाएको थियो । त्यही दिन नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो । 

२७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न १३८ मत ल्याउन आवश्यक हुन्छ । अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी प्रचण्डलाई विश्वासको मत दिने पक्षमा नागरिक उन्मुक्ति पार्टीबाहेक १५१ मत छ । 

यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७ मत छ । राप्रपासँग १४, जनमतपासँग ६, लोसपासँग ४,  नेमकिपासँग र राष्ट्रिय जनमोर्चासँग एक÷एक सांसद छन् भने स्वतन्त्र तीन सांसद छन् । 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो । २०७९ पुस १० गते एमालेको प्रस्तावना प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए ।

२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो । चैत ६ गते प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएकामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।

कमेन्टहरु