राजनीति

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज, दाहाल र शर्माबीच प्रतिस्पर्धा

जगत ठाडा मगर
२०८० फाल्गुन २९ | बिहान ०६:११ बजे

काठमाडौं, फागुन २९ । राष्ट्रिय सभाको अध्यक्षका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर ९ मिनेटमा बस्ने राष्ट्रिय सभाको बैठकले चुनावको प्रक्रिया अघि बढाउने निर्वाचन कार्यतालिका छ ।

अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको तर्फबाट सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

दाहालको प्रस्तावकमा माओवादीका सांसद गोपीबहादुर सार्की छन् । समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन् । 

यस्तै शर्माको प्रस्तावकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन् । कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिएको छ । उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन् । 

राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ । एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन् ।

कमेन्टहरु