नारायणगढको पोखरा बसपार्कस्थित न्यू दिप होटलमा एक पुरुष मृत फेला

जगत ठाडा मगर
२०८० फाल्गुन २७ | बिहान ०७:११ बजे

चितवन, फागुन २७ । नारायणगढको पोखरा बसपार्कस्थित न्यू दिप होटल एण्ड लजमा एक पुरुष मृत फेला परेका छन् । माडी नगरपालिका – ८ स्थित अयोध्यापुरीका ५५ बर्षिय लाल बहादुर रानामगर शनिवार मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रबार राती बास बसेका राना मगर शनिबार बिहान होटलको ५ नम्बर कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार उनी राती ८ बजे होटलमा बास बसेको देखिन्छ । बिहान खाना खान समेत नआएपछि हेर्न जाँदा भित्रबाट चुक्कुल लगाएको अवस्थामा उनी मृत भेटिएका थिए ।
उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । उनका आफन्त घटनास्थल आइपुगेपछि उनको शव भरतपुर अस्पतालमा ल्याइएको छ । आफन्तको जाहेरीपछि शवको पोस्टमार्टम गर्ने प्रहरीको तयारी छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























