अपराध

किशोरीमाथि सामूहिक बलात्कार : तीन ओटा मुद्दा दायर, ६ जना पक्राउ

नवलपुर टुडे
२०८० फाल्गुन २६ | मध्यान्ह ०६:११ बजे

काठमाडौं, फागुन २६ । प्रहरीले काठमाडौबाट १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । एकै जना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

एकपटक तीन जनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् । गत २४ माघमा विशालनगरमा सामूहिक बलात्कार गरेको अभियोगमा बाजुराका अंगराज बोहरा, तेजबहादुर दानी र जनक बोहरा पक्राउ परेका हुन् ।

बोहराको कोठामा आफूलाई मदिरा पिलाएर उनीहरूले पटक-पटक बलात्कार गरेको पीडितको उजुरी छ । अभियुक्तहरूले भने सहमतिमै आफूहरूले सम्बन्ध राखेको दाबी गरेका छन् । जनक बोहराले तीनपटक, तेजराज दानीले दुईपटक र अंगराज बोहराले एकपटक सम्बन्ध राखेको उनीहरूको बयानमै उल्लेख छ ।

उनै किशोरीमाथि गत २१ माघमा मूलपानीस्थित लभ टू लभ होटेल एन्ड लजमा सामूहिक बलात्कार गरेको अभियोगमा अर्को मुद्दा दायर भएको छ । जसमा दार्चुलाका शुभराज पन्त र बाजुराका चेतराज दानी प्रतिवादी छन् । प्रहरी वृत्त बौद्धमा उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो ।

त्यस्तै, २५ माघमा भण्डारखालनजिकै पनि तीनै किशोरीमाथि पटक-पटक बलात्कार भएको अर्को मुद्दा दायर भएको छ । जसमा रुकुम पश्चिमका खडकप्रसाद गिरी पक्राउ परेका छन् । यो घटनाको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।

बिहीबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश किशोर घिमिरेको इजलासले ६ जनालाई नै पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

कमेन्टहरु