राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, उपनिर्वाचनबारे छलफल गरिने

जगत ठाडा मगर
२०८० फाल्गुन २६ | मध्यान्ह ०६:११ बजे

काठमाडौँ, फागुन २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक सोमबार (फागुन २८ गते) मध्याह्न साढे १२ बजे पार्टी कार्यालय बालाजुमा बस्ने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार आगामी वैशाख १५ मा हुने उपनिर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा उपनिर्वाचनका लागि दल दर्ता र इलाम क्षेत्र नम्बर २ को निर्वाचनको तयारीका लागि छलफल गरिने छ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । त्यस्तै, प्रदेश सभातर्फ बझाङ—१ मा पनि उपनिर्वाचन हुँदैछ ।

नेकपा (एमाले) का सांसद सुवास नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त भएको हो । चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका पनि सार्वजनिक गरिसकेको छ ।

सत्ता समीकरणमा फेरबदल भएपछि रास्वपा पनि सरकारमा सहभागी भएको छ । सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी रास्वपाको भागमा गृहमन्त्रालयसहित चार मन्त्रालय परेका छन् । जसअनुसार लामिछाने उपप्रधान तथा गृहमन्त्री, डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

पछिल्लो नयाँ गठबन्धन र सरकारमा सहभागी भएकोबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुने रास्वपाले बताएको छ ।

कमेन्टहरु