पर्सामा चिहान उत्खनन् गरेर प्रहरीले निकाल्यो १२ वर्षीय बालकको शंकास्पद शव


पर्सा, फागुन २५ । पर्सामा प्रहरीले चिहान उत्खनन् गरेर १२ वर्षीय बालकको शव निकालेको छ । ती बालकको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि चिहानबाट शव निकालेको हो ।
स्रोतका अनुसार वीरगन्ज महानगरपालिका–१२ निवासी शम्भु महतोका १२ वर्षीय छोरा दिलीप मण्डलले आत्महत्या गरेको बताइन्छ । आत्महत्या गरेपछि दिलीपको शव अभिभावकले वीरगन्जको सिर्सिया नदी छेउमा लगेर सुटुक्क गाडेका थिए ।
घटनाबारे प्रहरीले जानकारी पाएपछि बिहीबार राति घटनास्थलमा पुगेर शंकास्पद शव निकालेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमार विक्रम थापाले बताए । प्रहरी टोलीले बालकको शव अन्दाजी दुई फिट गहिरो खाल्डोबाट खनेर निकालेको हो । प्रारम्भिक अनुसन्धानमा बालकको शरीरमा कुनै किसिमको चोटपटक नदेखिएको प्रहरीको भनाइ छ ।
शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । पोष्टमार्टमको रिपोर्ट आइसकेपछि थप अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।
प्रहरीले अनुसन्धानका लागि मृतक बालकका बुबा शम्भु र आमा सवितादेवीलाई नियन्त्रणमा लिएको छ ।उनीहरुसँग सोधपुछ गर्दा लागु औषध दुर्व्यसनमा लागेका कारण आफूहरुले छोरालाई घरमै थुनेर राखेको बयान दिएका थिए । त्यही रिसले छोराले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने बयानमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।























