एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

नवलपुर टुडे
२०८० फाल्गुन २५ | बिहान ०७:११ बजे

काठमाडौं, फागुन २५ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय च्यासलमा बिहान ९ बजे बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार मुख्यतः पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागिताबारे छलफल गरिनेछ ।
त्यस्तै, एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने पनि तयारी गरेको छ । यसबारे पनि सचिवालय बैठकमा छलफल हुने ज्ञवालीले बताए । गत फागुन ८, ९ र १० गते एमालेको सातौं केन्द्रीय कमिटीको बैठक बसेको थियो ।
केन्द्रीय सदस्यहरूले दिएका सुझावहरू समेटेर दस्तावेजलाई पूर्णता दिने विषयमा पनि आजको सचिवालय बैठकमा छलफल हुनेछ ।






















