भक्तपुरमा कोठाबाट तेल किन्न निस्किएका पुरूष मृत फेला, हत्या आरोपमा एक जना पक्राउ


काठमाडौं, फागुन २० । भक्तपुरमा एक पुरुषको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय सन्तोष सुवाल रहेका छन् ।
गत फागुन ९ गते राति तेह्रथुम छथर गाउँपालिका वडा नम्बर २ घर भई सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल बस्ने ३३ वर्षीय गोपालप्रसाद ढकाल कोठाबाट तेल किन्न निस्किएका थिए । तर उनी त्यसदिन कोठामा नफर्किएपछि उनकी श्रीमती रेणु ढकालले १० गते प्रहरी वृत्त जगातीमा निवेदन दिएका थिए । रेणुले श्रीमान चाइहे सूर्यविनायक जंगलमा रु दुई लाख लिई आउनुपर्ने भनी आफूलाई फोनमार्फत धम्की आएको प्रहरीसमक्ष बताएका थिए ।
त्यसपछि प्रहरीले खोज तलास गर्ने क्रममा ११ गते सूर्यविनायक – ८ वडा कार्यालय नजिकै रोशन बस्नेतको गोठको भुइँ तलामा ढकालको शव फेला परेको थियो । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सुवाललाई पक्राउ गरिएको हो । उनलाई १९ गते काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं ६ सिताघाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट मृतक ढकालको मोबाइल र ज्याकेट बरामद गरिएको थियो । सुवालको अपराधिक पृष्ठभुमि हेर्दा उनी ०७८ सालमा चोरी सम्बन्धि मुद्दामा ४ महिना कारागार बसेका थिए र ०७५ सालमा जिल्ला प्रहरी परिसर भक्तपुरमा अभद्र व्यवहारमा मुद्दा लागेको थियो ।























