अपराध, घटना

शालिन पोखरेल मृत्यु प्रकरण : अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी विषयवस्तु सम्प्रेषण नगर्न प्रहरीको आग्रह

नवलपुर टुडे
२०८० फाल्गुन १९ | मध्यान्ह ०६:११ बजे

चितवन, फागुन १९ । चितवनको रत्ननगर नगरपालिका वडा नं. १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा मृत फेला परेकी १४ वर्षीया शालिन पोखरेलको अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषय वस्तुहरू सम्प्रेषण नगरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । 

शनिबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको तथ्य परक वस्तुनिष्ठ अनुसन्धान कार्य जारी रहेको अवस्थामा घटनालाई लिएर सामाजिक संजाल तथा संचार माध्यमहरुमा सम्प्रेषित विषय वस्तुप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

फागुन १२ गते बिहान १०:३० बजेको समयमा कक्षा ८ मा अध्ययनरत पोखरेल होस्टेलको अन्य साथीहरू सहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको थिइन् । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल सिनियर प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञ सहितको अनुसन्धान टोली घटनास्थलमा खटी गई घटनास्थल र मृतक शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका कार्यहरू सम्पन्न गरिएको घटनाको गम्भीर रुपमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘बालबालिकाको मृत्यु जस्तो संवेदनशील विषयलाई अत्यन्त गम्भीर्यताका साथ लिई प्रचलित कानुनले निर्दिष्ट गरे बमोजिम नेपाल प्रहरीले आफ्नो पेसागत मूल्य मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान भई रहेको र वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषण समेतको आधारमा तथ्य परक बस्तुनिष्ठ अनुसन्धान गरिने कुरामा पीडित परिवार र सम्पूर्णमा विश्वास समेत दिलाउँदछौँ ।’

429868700_1157719968722979_9132663164830899872_n

कमेन्टहरु