राजनीति

कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौमा प्रदर्शन

नवलपुर टुडे
२०८० फाल्गुन १७ | मध्यान्ह ०८:११ बजे

काठमाडौँ, फागुन १७ । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचान पक्षधर संगठनहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । गत वर्ष फागुन १७ गते प्रदेश १ को नाम कोशी राखेको थियो ।

फागुन १७ आदिवासी जनजातिको पहिचान नामेट गरिएको अँध्यारो दिन भन्दै काठमाडौँको तीनकुनेमा आज पहिचान पक्षधर संगठनहरुले विरोध प्रदर्शनसहित सभा गरेको हो । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन), प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति लगायतका सङ्घ संस्थाहरूले विरोध प्रदर्शनसहितको सभाको आयोजना गरेको थियो ।

प्रदर्शनका क्रममा कालो झण्डासहित प्रदर्शनकारीले पहिचानविरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामकरण गर लगायतका नारा लगाएका थिए ।

२०७९ फागुन १७ गतेको प्रदेशसभा बैठकमा प्रदेश १ को नाम कोशी राख्ने प्रस्ताव दुईतिहाई बहुमतले पारित भएको थियो । कोशी नामको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा चार मत परेको थियो ।

प्रदेश १ को नाम कोशी राखिएपछि पहिचानवादी दल तथा विभिन्न संघ संस्थाले विरोध गर्दै आएका छन् । उनीहरुको पहिचान सहितको नाम हुनुपर्ने माग छ ।

कमेन्टहरु