अपराध

थापाथलीस्थित प्रसूति गृहबाट ‘सहयोग’ को बहानामा महिलाले चोरेकी थिइन् बालिका

नवलपुर टुडे
२०८० फाल्गुन ११ | मध्यान्ह ०८:११ बजे

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी बालिकाको खोजी तीव्र पारिएको छ । २६ दिनकी बालिका चोरीमा संलग्न आरोपीको हुलिया थाहा भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । चोरीमा संलग्न आरोपीको खोजीमा जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपीको नेतृत्वमा टिम परिचालन गरिएको छ ।

काभ्रेको चौर देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा अपरिचित महिलाले चोरेर भागेकी हुन् । ‘सहयोग’ को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन् । अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरिन् ।

सीसीटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिन्छ । आरोपीले पहेँलो ब्याग बोकेकी छन् । चोरीमा संलग्न आरोपीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए ।

कमेन्टहरु