युरोप पठाइदिन्छु भनेर ६ सय भन्दा बढी व्यक्तिसँग करोडौं ठगेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ


काठमाडौं, माघ १८ । वैदेशिक रोगजारीमा युरोप पठाइदिन्छु भनेर ६ सय जना भन्दा बढी मानिसबाट करोडौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ घर भई इमाडोल बस्ने ३२ वर्षीय विकास वाइबा भनिने सुजन तामाङ छन् ।
उनले बालाजुमा युरो विङ्ग्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेका थिए । त्यहाँबाट मानिसहरूलाई युरोपियन मुलुकहरू माल्टा, पोल्याण्ड, क्रोसिया र क्यानडा लगायतका देशहरू पठाइदिन्छु भनेर ६०० जना भन्दा बढी मानिससँग करोडौं ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्रले जानकारी दिए ।
सयौं मानिसहरूले उजुरी दिएपछि तामाङविरूद्ध वैदेशिक रोजगार कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेको उनलाई बुधबार ललितपुरको पुल्चोकबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको एसपी रेग्मीले जानकारी दिए ।






















