खेलकुद

यू-१९ विश्वकप : सुपर सिक्सका लागि आज नेपालले बंगलादेशको सामना गर्दै

जगत ठाडा मगर
२०८० माघ १७ | बिहान ०७:१० बजे

काठमाडौं, माघ १७ । दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार आज दिउँसो पौने २ बजे सुरु हुनेछ ।

नेपालले समुह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुँदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समुह ए बाट दोस्रो हुँदै सुपर सिक्समा पुगेको हो ।

नेपाल अहिले सुपर सिक्सको समुह १ मा समुह चरणको रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ । त्यसैले सेमिफाइनलमा पुग्ने नेपालले सुपर सिक्सका दुवै खेल जित्नै पर्ने अवस्था रहेको छ ।

नेपालले समुह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमान्चक एक विकेटले पराजित गरेको थियो ।

आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २-२ खेल खेलेपछि शिर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

कमेन्टहरु