अपराध

काठमाडौबाट नक्कली डाक्टर पक्राउ

जगत ठाडा मगर
२०८० माघ ८ | मध्यान्ह ०२:१० बजे

काठमाडौँ, माघ ८ । प्रहरीले काठमाडौँबाट एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ घर भएका ४० वर्षीय सम्बुद्ध भट्टचार्य रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भट्टचार्यलाई सोमबार नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार भट्टचार्यले बसुन्धरामा धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए । उनले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए ।

उनले आफू टिचिङ अस्पतालमा पनि काम गर्ने गरेको बताउँदै आएका थिए । उनले अहिलेसम्म ४० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन् । प्रहरीका अनुसार भट्टचार्यले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए ।

उनीमाथि इलाजसम्बन्धी र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्टहरु